ताजकिस्तान जाने फुटबल खेलाडीको सुटुक्क बिदाइ

आइतबार, २५ कार्तिक, २०८१
डिजिटल संस्करण

दुई मैत्रीपूर्ण खेलका लागि ताजकिस्तान जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुटुक्क बिदाइ गरेको छ । शनिबार खेलाडीलाई अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, सदस्यहरू पुरुषोत्तम थापा, मनीष जोशी, मनिराज विष्ट, सहायक महासचिव बद्री भट्टराईले बिदाइ गरेका हुन् । 

कप्तान किरणकुमार लिम्बू र अन्तरिम प्रशिक्षक नवीन न्यौपानेलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरिएको थियो । बिदाइ कार्यक्रमका लागि कार्यसमिति सदस्यलाई साझ मात्रै जानकारी गराइएको थियो । त्यसैले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित चारै उपाध्यक्ष नै उपस्थित भएनन् । 

नेपाली टिम आइतबार काठमाडौंबाट उड्नेछ । टोली सोमबार ताजकिस्तानको डुसान्बे पुग्ने एन्फाले जनाएको छ । नेपालल कात्तिक २८ मा घरेलु टोली ताजकिस्तान तथा मंसिर १ मा अफगानिस्तानको सामना गर्नेछ ।

नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ लिम्बू (कप्तान), दीप कार्की, विशाल सुनार छन् । रक्षकमा अभिषेक लिम्बू, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दीप पौडेल, एञ्जल महर्जन छन् ।

मिडफिल्डरमा रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनीष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ रहँदा स्ट्राइकरमा जिलेस्पीजंग कार्की, अञ्जन विष्ट, निराजन धामी छन् । निराजनसँगै रन्दीप, एञ्जल र अभिषेक वाइबा पहिलोपटक टोलीमा स्थान बनाएका हुन् । 

सुझावित समाचार