यू–१९ महिला विश्वकप एसिया छनोट : नेपाल युएईसँग पराजित

शनिबार, २४ कार्तिक, २०८१
डिजिटल संस्करण
यू–१९ महिला विश्वकप एसिया छनोट : नेपाल युएईसँग पराजित

तस्बिर : नेपाल क्रिकेट संघ

युएईमा जारी आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपालले हार व्यहोरेको छ।

युनाइटेड अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली युएईले नेपाललाई १३ रनले हराएको हो। युएईले दिएको १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन्। उनले ४३ बलमा ५ चौकाको मद्दतले सर्वाधिक ४८ रन बनाएकी हुन्। साना प्रवीण र सोनी पाख्रिनले समान १९-१९ रन बनाए। ज्योत्स्निका मरासिनीले ११, साबित्री धामीले ७ र एलिसाकुमारी यादवले तीन रन बनाए। यो खेलमा नेपालले अतिरिक्त तीन रन पायो। युएईका लागि इन्धुजा नन्दकुमार, लावन्या केनी र मेहक ठाकुरले समान १-१ विकेट लिए। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको थियो। युएईका लागि रिनिथा रञ्जितले सर्वाधिक ४८ रन बनाइन्। उनले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाएकी हुन्।

यस्तै, लावन्या केनीले २०, इन्धुजा नन्दकुमारले १२, समाइरा धरनिधर्कले ८, अल मसिरा जहाँगीरले ६ रनको योगदान दिए। ऋषिता राजित र अवनी सुनील पाटिलले समान ९-९ रन बनाए। युएईले अतिरिक्त १० रन प्राप्त गर्यो।

नेपालका लागि रिया शर्माले सर्वाधिक तीन विकेट लिइन्। पूजा महतो, कृश्मा गुरुङ र सीमा केसीले समान १-१ विकेट लिए। एसिया छनोटमा नेपालको यो पहिलो हार हो। यसअघि नेपालले दुई खेल जितेको थियो। पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो।

नेपालले आइतबार थाइल्यान्डसँग चौथो खेल खेल्नेछ। छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ। रासस

सुझावित समाचार