वृद्धि भएको हवाईभाडा सम्बन्धमा छलफल

शनिबार, २४ कार्तिक, २०८१
डिजिटल संस्करण

भाडा वृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मर्कामा परेको गुनासो बढेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले परराष्ट्र, श्रममन्त्रीसहित वैदेशिक रोजगारसम्बद्ध संस्थाका व्यवसायीसँग छलफल गरेका छन् । शुक्रबार भएको छलफलमा वैदेशिक रोजगारीमा जानेहरूका लागि नयाँदिल्लीस्थित विमानस्थल प्रयोग गर्न यसअघि लगाइएको रोक खुला गर्ने र भैरहवामा थप अन्तर्राष्ट्रिय उडानका लागि सहजीकरण गर्नेलगायतका विषयमा छलफल भएको बताइएको छ । 

परराष्ट्रमन्त्री आरजु राणा देउवाले उडानहरू कटौती हुँदा सबैभन्दा धेरै सरकारलाई नै घाटा भएको उल्लेख गरिन् । उनले पर्यटनमन्त्रीको अध्यक्षतामा पुनः बैठक बसेर समस्या टुंग्याउने बताउँदै तत्काललाई दिल्लीबाट उडान गर्न दूतावासमार्फत पहल गर्नका लागि अनुरोध गर्ने बताइन् । छलफलमा वैदेशिक रोजगारीमा जानेहरूका लागि नयाँदिल्लीस्थित विमानस्थल प्रयोग गर्न यसअघि लगाइएको रोक खुला गर्ने तथा भैरहवामा थप उडानका लागि सहजीकरण गर्नेलगायतका विषयमा छलफल भएको छ ।

श्रम तथा रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यसअघि नयाँदिल्लीबाट नेपालीहरू श्रम गन्तव्यमा जाने गरेको भए पनि म्यानपावर व्यवसायीहरूकै आग्रहमा मानव तस्करी बढेको गुनासोपछि रोक लगाएको बताए । पर्यटनमन्त्री पाण्डेले त्रिभुवन विमानस्थलमा रातिको समयका उडान कटौतीको विषयलाई लिएर हवाई टिकटमा वृद्धि भएको बताए । उनले नेपाल वायुसेवा निगमसँग पर्याप्त विमान नहुँदा पनि समस्या देखिएको बताए ।

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएनका अध्यक्ष दीपक थापाले नेपालबाट अन्तर्राष्ट्रिय हवाईभाडामा अस्वाभाविक रूपमा वृद्धि भइरहेको र यसमा एयरलाइन्स कम्पनीहरू र केही ट्राभल एजेन्सीहरूको हात ठुलो रहेको ठोकुवा गरेका थिए । 

सुझावित समाचार