राजनीतिमा स्वच्छन्दतावादको सम्बन्ध

शुक्रबार, २३ कार्तिक, २०८१
डिजिटल संस्करण

राष्ट्रघाती सन्धि, सम्झौता, सामाजिक अन्तरविरोध, बढ्दो आयात, प्राकृतिक विनाशजस्ता विषयलाई बहसमा नल्याउनु राजनीतिक स्वच्छन्दतावाद हो 

फ्रान्सेली क्रान्ति : राजनीतिक स्वच्छन्दतावादको सम्बन्ध फ्रान्सेली क्रान्तिसँग जोडिएको छ । सन् १७८९ को आरम्भ फ्रान्सेली क्रान्तिको समय थियो । यस क्रान्तिमा विद्रोहीपन, जोस, विश्वासघात, हिंसा र आरक्षणजस्ता पक्षको अभिलेखन देखिन्छ । फ्रान्सेली क्रान्तिकारीको योगदानले नै विश्वव्यापी रूपमा मानव अधिकारको खोजी भएको थियो । यो क्रान्ति फ्रान्सको जहानियाँ सामन्ती राजतन्त्रको अन्त्यसँगै सम्पन्न भएको थियो । यसका कारण विभिन्न देशमा राजनीतिक भूदृश्य परिवर्तन भएको थियो । यसैले, यो युरोप र फ्रान्सको इतिहासमा मात्र नभई संसारभरि प्रभाव पारेको क्रान्ति हो भन्न सकिन्छ । फ्रान्समा राष्ट्रिय झन्डामार्फत यो क्रान्ति आजसम्म पनि जीवन्त रहेको देखिन्छ । यो क्रान्ति राष्ट्रिय स्वतन्त्रता दिवस, स्वतन्त्रता, समानता, भ्रातृत्वका आधारमा सबै जनतामा राष्ट्रियगानका रूपमा अहिलेसम्म स्मरणीय छ । यसै क्रान्तिमार्फत मुस्लिम र यहुदीले नागरिक अधिकार प्राप्त गर्नुका साथै चर्चको प्रभुत्वबाट भिन्न भई युरोपमा सर्वप्रथम राज्यको आधार तय भएको हो । यस क्रान्तिपछि नै फ्रान्समा पहिलोपटक पारिवारिक कानुन परिमार्जन गर्दै महिला र पुरुषबिच वंशीय समानता, विवाहको स्वतन्त्रता र सम्बन्धविच्छेदको अनुमति प्रदान गरेको हो । यसबाट महिलाविरुद्धको हिंसालाई अपराधीकरण गर्दै समाजमा नयाँ बहस देखापरेको हो । यहीँबाट सीमित मात्रामा भए पनि सामाजिक कल्याणका कार्य र अवकाश वृत्तिको आरम्भ पनि भएको हो । सबैलाई शिक्षा भन्ने आधार पनि तय यसैबाट भएको हो । समाजमा सांस्कृतिक, आर्थिकलगायत विविध पक्षको पुनः संरचनामा यसको जोड रहेको देखिन्छ । 

सन् १७८९ अघि राजा लुई सोह्रौँको समयमा गरिब जनतामा चर्को कर लादेको र धनी भने करको दायरामा मुस्किलले पर्ने गरेको सामाजिक भेद थियो । यस क्रान्तिपछि पश्चगामी अर्थात् प्रतिगामी शक्ति र क्रान्तिकारीबिच चर्को संघर्ष भएको पाइन्छ । नयाँ स्वच्छ समाज या राज्य निर्माण गर्न क्रान्तिपछि नयाँ राजनीति, मानव अधिकारप्रति समर्पित संगठित रूपले संस्थागत सिद्धान्तको विकासमा जोड दिएको पाइन्छ । आफ्नो जीवन पद्धति र बचाइको आधार आफैँले सिर्जना गर्ने मूल मान्यता पनि देखिन्छ । यसले गर्दा विश्वव्यापी संघर्षको मार्ग निर्माण भयो । यसको स्पष्ट मार्ग र आदर्श भने विकास हुन नसक्दा यो स्वच्छन्दतामा सीमित हुन गयो । राजनीतिक यात्रामा आज केही स्वच्छन्दतावादको आधार देखिएको छ । धेरैजसो विचार सन् १९६० को दशकपछि स्वच्छन्दतावादसँग जोडिएर त्यस किसिमका संघर्ष देखिएका छन् । 

स्वच्छन्दतावाद : स्वच्छन्दतावाद कला साहित्यमा सञ्चालन गरिएको आन्दोलन हो । यो नवशास्त्रीयतावादविरुद्ध अठारौँ शदीको अन्त्य र उन्नाइसौँ शदीको आरम्भमा विकास भएको हो । जर्मन कवि फ्रेडरिक स्लेगललाई सर्वप्रथम स्वच्छन्द भन्ने शब्द प्रयोग गर्ने जस दिइएको छ । यस सिद्धान्तमा साहित्य आवेगको वस्तु हो, जो कल्पनाद्वारा प्रदत्त हुने भनी बताइएको छ । आवेग, स्वतन्त्रता, रहस्य र कल्पना स्वच्छन्दतावादले केन्द्रित गरेका मुख्य मान्यता हुन् । यसका मान्यताका क्रममा आत्मपरकता र व्यक्तिवादिता पनि थपिएका छन् । यो स्वस्फुर्तमा जोड दिने र नियममा भन्दा व्यक्ति स्वतन्त्रता खोज्ने मान्यता भएको पनि बताइएको छ । सामाजिक सक्रिय जीवनभन्दा एकान्तको जीवन रोजाइमा पर्नु पनि यसको मान्यता हो । स्वच्छन्दतावादमा अतीतसँगै कल्पनाको उडान नै सुन्दरताको आधार बनेको हुन्छ ।

यसैले अठारौँ शताब्दीमा फ्रेन्च क्रान्ति हुँदा स्वच्छन्द विचार विस्तार भयो । यस समयमा पुरानो राज्य प्रणाली या अतीत राम्रो र विशुद्ध थियो भन्ने आधार पनि विकास भएको पाइन्छ । स्वतन्त्रता र स्वायत्तताको वकालत गर्ने कलाकार र दार्शनिकरूले संसारलाई हेर्ने दृष्टिकोणमा ‘च्यालेन्ज’ भएकाले नै व्यक्तिगत मान्यतामा जोड दिँदै ती सिद्धान्तलाई एकीकृत गरी अघि बढेको देखिन्छ । यसपछि नै स्वच्छन्दतावादले अभिव्यक्तिको नयाँ मार्ग प्राप्त गरेको पनि पाइन्छ । यस मान्यताअनुसार जीवनको आदर्श नै स्वतन्त्रता तथा उदारता भएको र विश्व यसैका आदर्शमा गतिवान भएको आधार निर्माणमा जोड दिइएको छ । आरम्भमा स्वच्छन्दतावाद शास्त्रीयतावादको विरोधी धाराका रूपमा देखापरेको हो । सचेतताका कारण जीवन परिवर्तनशील देखिन्छ । यस मान्यतामा विश्वलाई हेर्ने निश्चित आधार तथा अनुभव भने आन्दोलनसँगै सँगालेको पाइन्छ । स्वच्छन्दतावादको योगदानमा राष्ट्रवादको उदय पनि पर्छ । स्वच्छन्दतावादले केही मात्रामा उदारवादको विकासमा पनि योगदान पुर्याएको छ ।

राजनीतिक स्वच्छन्दतावाद : बृहत्तम रूपमा युरोपमा राजनीतिक स्वच्छन्दतावादको पहिलो परम्परा फ्रेन्च क्रान्ति नै हो । यसपछि अठारौँ शताब्दीमा कार्ल स्मित (१८००–१९८५) को लेखन राजनीतिक स्वच्छन्दतावादमा उल्लेख गरिएको पाइन्छ । स्मितले स्वच्छन्दतावादले ठोस रूपमा केन्द्रविरुद्धको संघर्ष फरक ढंगले लिएको देखिन्छ । राजनीतिक उदारतालाई स्वैरकल्पनाभन्दा फरक ढंगले लिएको पनि पाइन्छ । यीबाहेक स्वच्छन्द विषयले स्पष्ट निर्णयलाई निषेध गर्छ । राजनीतिक उदारवादले उननाइसौँ शताब्दीको आन्दोलनलाई निर्देश गर्छ । यसको जोड तथ्यपरकताभन्दा आवेग र उदारताको राजनीतिक सोचमा रहेको देखिन्छ । राजनीतिक स्वच्छन्दतावादलाई एकतर्फी प्रेम सम्बन्ध भएजस्तै राजनीतिक सन्दर्भमा हेर्न सकिन्छ । जसरी यस्तो प्रेम सम्बन्ध आवेग र व्यक्तिगत अनुभूतिमा केन्द्रित हुन्छ, त्यसरी नै राजनीतिक स्वच्छन्दता या उदारताले पनि राजनीतिमा जोस र उदारतासँगै वैयक्तिकतालाई नै जोड दिन्छ । स्वच्छन्दतावाद या उदारवादको मुख्य मान्यता राष्ट्रवादको मान्यता नै हो । यो स्वच्छन्दता कला र राजनीतिको केन्द्रीय विचार पनि हो । यस आन्दोलनको आरम्भदेखि नै राष्ट्रिय भाषा, लोकवाङ्मयको विकास, स्थानीय मान्यता, रीतिरिवाज र परम्परामा जोड दिइएको पाइन्छ । यस आन्दोलनका कारण युरोपको नक्सा पुनः कोरिएको भन्ने गरिन्छ । आत्मनिर्णयको अधिकार, जनजातीय अधिकारलगायत राष्ट्रवाद नै यसको एक मात्र साँचो हो । रुसोद्वारा प्रस्तुत उदारतासम्बन्धी दृष्टिकोण पनि यस सन्दर्भमा बिर्सन मिल्दैन । यस मान्यतालाई अघि बढाउँदै हार्डरले मानिसको भौगोलिक रहनसहन, प्राकृतिक अर्थ व्यवस्था, परम्परा र समाजको आकारमा ध्यान दिएको पाइन्छ ।

स्वच्छन्द राष्ट्रवाद : राष्ट्रवादका आधारमा राज्यले राजनीतिक ‘लेजेटिमेसी’को सचेतन शासन खोजी गर्छ । यसले भाषा, वंश, जनजाति, धर्म, रीतिस्थितिजस्ता पक्ष समावेश गर्छ । यी पक्ष संस्कृतिबाटै विकास भएका हुन् । यसको प्रयोग जनजातिगत राष्ट्रवाद तथा नागरिक राष्ट्रवादका रूपमा गर्न सकिन्छ । स्वच्छन्द राष्ट्रवाद साम्राज्यको प्रभुसत्ताका कारण विकास भएको हो । यसको राज्यगत मुख्य मान्यता माथिदेखि तल भन्ने देखिन्छ । यसमा मुख्य या शिरमा राजतन्त्र र यससँग सम्बद्ध अन्य शक्ति रहन्छन् । यसले नै अस्तित्वको निर्धारण गर्छ । त्यसकारण प्रायजसो राष्ट्रवाद पनि स्वच्छन्द नै देखिन्छ । मुख्य रूपले राष्ट्रवादको आधार वंशगत, जाति र धार्मिक मत या दृष्टिकोणसँग सम्बद्ध देखिन्छ । यसले राज्यको रूपान्तरणकारी या क्रान्तिकारी आधार तय गर्दैैन । तर, यसबाट राज्यको स्वच्छन्द राजनीतिक आधार भने तय हुन्छ । स्वच्छन्द राष्ट्रवादले निश्चित मात्रामा उदारताको कुरो गर्छ । साहस र समृद्धिको परम्परागत पक्षमा जोड दिन सक्छ । सरकारले अनुशासनको मात्रा शासकका आदरका लागि तोक्न सक्छ । सामाजिक संस्कारको मानसिक निर्मलीकरण स्वच्छन्द उदारवादीको मुख्य पक्ष मानिन्छ । स्वच्छन्द उदारवादीको मुख्य नीतिगत समस्या भनेकै आफूलाई अरूभन्दा भिन्न र उच्च रहेको ठान्नु हो । मातृभाषीको आडमा यो चिन्तन कत्तिको फलदायी छ भन्ने नसोची या आत्मसात् नगरी अरूलाई सामान्य देख्नु डरलाग्दो पक्ष हो । सामान्य अनुभवकै भरमा निष्कर्षमा पुग्नु र सन्तुलित सामाजिक कार्यका लागि स्पष्ट नभएको राजनीतिक स्वच्छन्दता काव्यिक राजनीति हो । यसले उत्तेजनाको पर्व मात्र पर्खिरहेको हुन्छ । सबैजसो उदारताको आदरपूर्ण रूपमा कुरो त गर्र्छन्, तर स्वच्छन्द राजनीति तिनीहरूको भावनात्मक सन्तुष्टि या तुष्टिबाहेक केही होइन । स्वच्छन्दतावाद प्रभावित राजनीतिमा गरिब र गरिबीको काव्यिक उठान भए पनि सामाजिक प्रगतिका लागि यसले खोजी गरेको मार्ग उपयुक्त नभएको निष्कर्षमा आउन सक्छ ।

नेपालको सन्दर्भ : स्वच्छन्दतावादलाई नेपालको सन्दर्भमा दार्शनिक रूपले क्रान्तिकारी तर असंख्य सम्भावनालाई निषेध गर्ने यथार्थभन्दा पनि व्यक्तिको प्रवृत्तिले अर्कै दिशा समातेकोे रूपमा लिइएको छ । यसमा नेपालको कम्युनिस्ट आन्दोलनभित्रका केही पक्षलाई उदाहरणका रूपमा लिन सकिन्छ । समाज परिवर्तन गरी न्यायपूर्ण समाजवादी व्यवस्था स्थापना गर्न निम्न मध्यम र मध्यम वर्गीय वुद्धिजीवीले स्थापना गरेको कम्युनिस्ट पार्टीले साढे सात दशक पार गर्दा वर्ग उत्थानको साधन, राष्ट्रवादको जामामा सम्राज्यवादी दलाल अन्तर्राष्ट्रिय शक्तिको नीति लागू गर्ने साधन बनेको छ । झन्डै दुईतिहाइ जनमत कम्युनिस्ट पार्टीमा आस्था राख्ने भएर पनि, सोही अनुपातमा निम्नवर्गीय गरिब, शोषित पीडितको संंख्या भएर पनि विचारधाराका नाममा दर्जनौँ पार्टी र समूहमा रहनु झन्डै दुईतिहाइ वर्ग पक्षधरलाई संगठित गर्नुपर्नेमा आफ्नै पार्टीभित्रका तुलनात्मक जनपक्षीय बोली भएका नेतालाई पाखा लगाउने अवस्था सिर्जना गर्नेहरू नेतृत्वमा रहेका छन् । आ–आफ्नो पार्टी, गुट, समूहलाई सही देखाउने, नीतिगत ढंगमा मिल्न सक्ने अधिकतम विषयलाई पन्छाएर नमिल्ने झिनामसिना इगोका विषयलाई मुख्य बनाएर आफ्नै गुटमा रमाई बृहत् एकतालाई मृगमरिचिका बनाउने काम भएको छ । कम्युनिस्ट पार्टीका नेताहरूको जीवनशैली पनि यसको अर्को महत्वपूर्ण पक्ष भएको छ । महलमा बस्ने, गाडीमा रमाउने र विगत बिर्सिने गरेका छन् र आफ्नो गुटका व्यक्तिको वर्ग उत्थान गर्नुमै सीमित छन् । समाजवादका नाममा दलाल पुँजीपतिलाई बलियो नबनाएर उनीहरूको वर्ग उत्थानको माध्यम पनि सत्ता र दलाल पुँजीपति नै हुन् । समाजवादको लक्ष्य लिएर विकास भएको नेपाली कांग्रेसले देशमा स्थापित उद्योगलाई ०४६ सालपछि निजीकरण गरेर दलाल पुँजीवादलाई मलजल गर्यो । कुनै पनि सामाजिक व्यवस्थाको परिवर्तन उत्पादक शक्तिको परिवर्तनपछि मात्र सम्भव छ भन्ने वैज्ञानिक तथ्यलाई समेत नजरअन्दाज गरे । भुटानी शरणार्थी घटना, ललिता निवास घटना, सुनकाण्ड, गिरिबन्धु टी स्टेट घटनामा उच्च तहको संलग्नताले नेपाली राजनीतिमा राजनीतिक स्वच्छन्दतावाद मौलाएको दर्साउँछ ।

नेपालको बदलिँदो वर्ग र समाजलाई विश्लेषण गरी सुहाँउदो सिद्धान्तको विकास, नीति र कार्यक्रमसहित बृहत् अभियान सञ्चालनको सट्टा समाजवादको रटान र समाजवादलाई भोट मग्ने साधनमा सीमित गरिएको छ । दार्शनिक पक्ष शून्य भएका व्यक्तिहरू राजनीतिक नेतृत्वमा उदाउनु, एकातर्फ राष्ट्रियताको जप र अर्कातर्फ राष्ट्रघाती सन्धि, सम्झौता, बढ्दो सामाजिक अन्तरविरोध, बढ्दो आयात, प्राकृतिक विनाशजस्ता विषयलाई बहसमा नल्याइनुले ‘पोलिटिकल रोमान्टिसिज्म’लाई थप पुष्टि गर्छ ।

(यादव त्रिविको रसायन शास्त्र विभागका प्राध्यापक हुन्)

सुझावित समाचार