पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा समर्थन जुटाउने अभियान सुरु गरेको छ । दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर जोन्टी रोड्सलाई परामर्शदाता र सल्लाहकारका रूपमा भित्र्याएको पोखराले बिहीबार उनको सम्मानमा ‘राइड विथ जोन्टी रोड्स’ आयोजना गरेको छ । कार्यक्रममा पोखराका विभिन्न नौ संस्थाले सहयोग गरेका छन् । नेपाल र टोलीको लोगोअंकित झन्डासहित रोड्सलाई फिस्टेल गेटदेखि पोखराको विभिन्न चोक परिक्रमा गराइएको थियो ।
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले क्रिकेटका लागि रोड्सको आबद्धताले आफूहरू उत्साहित भएको बताए । ‘रोड्सलाई भित्र्याउनु टोलीका लागि मात्र नभएर नेपालको क्रिकेटलाई समेत फाइदा पुग्नेछ,’ त्रिपाठीले भने । दक्षिण अफ्रिकाका लागि एकदिवसीय तथा टेस्टमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका रोड्सको अनुभवमा पोखराले एनपिएलमा राम्रो नतिजा निकाल्ने उनको भनाइ छ । ‘विश्व क्रिकेटकै एक उत्कृष्ट अलराउन्डरको सहयोगमा एनपिएलमा राम्रो नतिजा निकाल्ने र युवा खेलाडीको क्षमता अभिवृद्धि हुने विश्वास लिएका छौँ,’ त्रिपाठीले भने ।
१० करोडको बजेट
एनपिएल अक्सनमा पोखरा सबैभन्दा महँगो फ्रेन्चाइज टोली बनेको थियो । टोली बलियो बनाउन राम्रा खेलाडी अनुबन्ध गर्न पोखराले अक्सनमा तीन करोड ५७ लाख खर्च गरेको थियो । लिग सकिँदासम्म १० करोड खर्च हुने अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् । ‘अक्सनमा खर्चिलो टोली बन्यौँ, अब लिग सकिँदासम्म १० करोड सकिनेछ ।’ क्रिकेटलाई आफूहरूले उद्योगका रूपमा विकास गर्न चाहेको उनले बताए । ‘युवा खेलाडी उत्पादनसँगै क्रिकेटलाई व्यावसायिक बनाउने उद्देश्यसहित अगाडि आएका छौँ,’ उनले भने, ‘खेललाई नाफा वा घाटाका रूपमा कहिल्यै हेरिनँ ।’
पोखरा रंगशाला देखेर दंग रोड्स
रोड्सले पोखराको सुन्दरता देखेर आफू मोहित भएको बताएका छन् । अर्कोपटक परिवारसहित यहाँ आउने उनले बताए । ‘यहाँको वातावरणबाट मोहित भएँ, अर्कोपटक परिवारसँगै आउनेछु,’ ¥यालीपछि उनले भने, ‘पोखराले दिएको माया र सद्भावप्रति कृतज्ञ छु ।’ पोखरा रंगशालास्थित क्रिकेट मैदान विश्वमा कतै खोजेर नपाइने उनले दाबी गरेका छन् । ‘हिमशृंखला हेरेर क्रिकेट खेल्न सकिने मैदान पोखराबाहेक अन्य स्थानमा छैन,’ उनले बयान गरे, ‘पोखराको मैदानले मलाई मोहित बनाएको छ, विश्वमा उत्कृष्ट क्रिकेट रंगशाला पोखरामा छ ।’
दक्षिण अफ्रिकाका लागि रोड्सले ५२ टेस्ट र २४५ एकदिवसीय खेलेका थिए । केही वर्षअघि उनले नेपालको राष्ट्रिय टोली र उमेर समूहका टोलीलाई छोटो प्रशिक्षणसमेत दिएका थिए । उनी अहिले इन्डियन प्रिमियर लिगमा लखनउ सुपर जायन्ट्ससँग आबद्ध छन् । उनले जलवायु परिवर्तनका कारण हिमालमा असर परेकाले यसको निराकरणका लागि लाग्नुपर्ने बताए । उनले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको प्रतिक्रिया दिएका छन् ।