भारतबाहेक टर्की, इन्डोनेसिया, चिली, इजिप्ट, दक्षिण कोरिया, कतार, साउदी अरेबिया, हंगेरी, डेनमार्क र क्यानडाको पनि सन् २०३६ को ओलम्पिक आयोजनाको प्रस्ताव
भारतको गुजरात सहरले ३६औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता आयोजनाको दाबी गरेको छ । भारतीय ओलम्पिक कमिटीले १२ वर्षपछिको ओलम्पिक आयोजनाका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)लाई प्रस्ताव पठाएको एजेन्सीले जनाएका छन् । ओलम्पिक खेल आयोजना गर्न भारतबाहेक टर्की, इन्डोनेसिया, चिली, इजिप्ट, दक्षिण कोरिया, कतार, साउदी अरेबिया, हंगेरी, डेनमार्क र क्यानडाले पनि प्रस्ताव राखेका छन् ।
सबै राष्ट्रले ओलम्पिक आयोजना गर्न ठुलो धनराशिको बजेट सार्वजनिक गरिसकेका छन् । चीनको छेन्दुले प्रस्ताव राख्ने जनाए पनि अन्तिम समयमा हात झिक्यो । भारतीय ओलम्पिक कमिटीले गुजरातमा ओलम्पिक खेल आयोजना गर्न ६ वटा स्पोर्टस् कम्प्लेक्स निर्माण गर्न ६ हजार करोड भारु खर्चने बजेट सार्वजनिक गरेको छ । गुजरातको ओलम्पिक गुरुयोजना अहिलेसम्मकै भारतमा उपलब्ध खेल कम्प्लेक्सभन्दा अत्याधुनिक हुने दाबी गुजरात ओलम्पिक आयोजना तथा निर्माण कम्पनीले गरेको छ ।
‘ओलम्पिक कमिटी तथा आइओसीलाई सबै प्रस्ताव र गुरुयोजना पठाइसकेका छौँ,’ निर्माण कम्पनीले जनाएको छ, ‘गुरुयोजना तयार पार्न तीन महिना गृहकार्य गरेका थियौँ, सरकारका सिनियर अफिसरले पनि यसको तारिफ गरेका छन् ।’ अहमदाबादको सरदार भालाभाइ पटेल स्पोर्टस् क्षेत्रमै नयाँ कम्प्लेक्स बन्नेछन् । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार गान्धीनगरमा यसको शिलान्यास गरेका छन् । यस कम्प्लेक्सभित्र नै ५० हजार दर्शक क्षमताको रंगशाला र १० हजार अट्ने टेनिस सेन्टर हुनेछन् । नारायण स्पोर्टस् कम्प्लेक्स ६१५ करोड भारु खर्चंदै पुनर्निर्माण हुनेछ ।
आकर्षक गुरुयोजना
गुजरातले प्रस्तुत गरेको गुरुयोजना आकर्षक रहेको भारतीय मिडियाले जनाएका छन् । गुरुयोजनाअनुसार ८२ हजार ५५७ वर्गमिटर क्षेत्रफलमा फुटबल, हक्की, बास्केटबल, कबड्डी, बक्सिङ, लनटेनिस तथा रनिङ ट्र्याक निर्माण हुनेछन् । पाँच सय एकडको क्षेत्रफलमा ओलम्पिक भिलेज रहनेछ । जहाँ ओलम्पिकमा सहभागी खेलाडीदेखि अफिसियललाई १०–१५ तलाको अपार्टमेन्टमा राखिनेछ ।
प्रधानमन्त्री मोदीको सपना पनि एकपटक भारतलाई कम्तीमा ओलम्पिक राष्ट्र आयोजक बनाउनु हो । उनको यस सपनामा भारतीय ओलम्पिक कमिटी लागेको छ । अहमदाबाद सहरी विकास योजनाले सन् २०३३ सम्म ओलम्पिकको गुरुयोजनाको भौतिक निर्माण पूरा भइसक्ने बताएको छ । ‘सन् २०३६ को ओलम्पिकका लागि सन् २०३० सम्म पूर्वाधार तयार गर्नेछौँ,’ सहरी विकास योजनाले जनाएको छ ।