नेपाल एडभेन्चर रनिङ महासंघले चीनमा भएको दुई अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जितेकी धाविका सुनमाया बुढालाई बिहीबार स्वागत गरेको छ । सुनमायाले ११ अक्टोबरमा भएको अल्ट्रा ट्रेल निन्घाईंमा स्वर्ण जितेकी थिइन् ।
६० किलोमिटर दूरीको रेस उनले ५ घण्टा ४० मिनेट ०३ सेकेन्डमा पूरा गरेकी थिइन् । अर्को स्वर्ण उनले २ नोभेम्बरमा भएको साइगु १०० केमा जितिन् । सुनमायाले निर्धारित १०५ किलोमिटर दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेन्डमा तय गरेकी थिइन् । दुवै रेसमा सुनमायाले कोर्स रेकर्ड पनि कायम गरेको महासंघकी सदस्य एवं अन्तर्राष्ट्रिय समन्वयकर्ता प्रीति खत्रीले जनाएकी छिन् ।
दुई प्रतियोगितासहित सुनमायाले यस वर्ष नौ अन्तर्राष्ट्रिय रेसमा सहभागिता जनाएकी छिन् । उनले सात रेसमध्ये तीनमा पहिलो स्थान हात पारिन् । उनी एक प्रतियोगितामा तेस्रो भइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई महासंघका अध्यक्ष एकेन्द्र कुँवर, वरिष्ठ उपाध्यक्ष राजन खत्रीलगायतले स्वागत गरेका थिए । अध्यक्ष कुँवरले सुनमायाको सफलता र साहसको प्रशंसा गर्दै चाँडै नगद पुरस्कारसहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे ।