बाढीले क्षति पुर्‍याएको काबेली करिडोर प्रसारणलाइनको पुनर्निर्माण सकियो, १९ प्रसारणलाइन सञ्चालनमा

मंगलबार, २० कार्तिक, २०८१
डिजिटल संस्करण

इलामको माईखोलामा आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको पुनर्निर्माण सकिएको छ। गत असोज १२ गते शनिबार माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारणलाइनअन्तर्गत इलामको माई नगरपालिका– १ र ७ स्थित धोद्रेबेँसीमा चारवटा टावरमा क्षति पुर्याएको थियो । 

नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारणलाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाहरूले संयुक्त रूपमा पुनर्निर्माण  तथा पुनर्स्थापना गरी सोमबार दिउँसो ४:३० बाट प्रसारणलाइन सञ्चालनमा ल्याएको हो । काम सुरु गरेको १९ दिनमा काम सम्पन्न गरी प्रसारणलाइन सञ्चालनमा ल्याइएको निजी क्षेत्रका तर्फबाट पुनर्निर्माणमा खटिएका ऊर्जा उद्यमी मोहन कार्कीले बताए।  

प्रसारणलाइन सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरूले विद्युत् उत्पादन सुरु गरेका छन् । आयोजनाहरूबाट १२ असोजबाट विद्युत् उत्पादन बन्द थियो । प्राधिकरण र निजी क्षेत्रले संयुक्त रूपमा पुनर्निर्माण अगाडि बढाएका थिए । 

काबेली करिडोर प्रसारणलाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको  खण्डको धोद्रेबेँसीमा ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माईखोलाको बाढीले क्षति पुर्याएको थियो । त्यस स्थानबाट प्रसारणलाइनलाई माईखोला पार गराएको थियो । उक्त स्थानमा प्रसारणलाइनको स्पान साढे सात सय मिटर रहेको छ । 

चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रूपमा क्षति पुर्याएको  थियो । बाढीले उक्त टावर ढालेको थियो । त्यहाँ अर्को नयाँ टावर बनाइएको हो । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको थियो । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको थियो । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको थियो । दुवै टावरको मर्मत गरिएको थियो । प्रसारणलाइन पुनर्निर्माणमा उक्त स्थानका वडाका जनप्रतिनिधिहरूबाट पूर्ण रूपमा सहयोग प्राप्त भएको थियो ।   

सुझावित समाचार