आइसिसी विश्वकप क्रिकेट लिग– २ : अमेरिकासँग नेपाल ३७ रनले पराजित

आइतबार, १८ कार्तिक, २०८१
डिजिटल संस्करण

आइसिसी विश्वकप क्रिकेट लिग– २ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग नेपाल पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड पेरी क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो ।

अमेरिकाले दिएको २८२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४४ रनमा समेटियो । नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ८० बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५२ रन जोडेका हुन् ।

नेपालले ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो । दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेलले २९ रन जोडे । त्यसपछि कुशल मल्ल ५४ बलमा एक चौका र एक छक्कासहित ३३ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल एक, गुल्सन झा १२ तथा आरिफ शेख २१ रन बनाउँदै आउट भए ।

त्यसपछि सोमपाल कामीले २७ बलमा चार चौका र दुई छक्कासहित ४६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३८ बलमा एक चौका र एक छक्कासहित ३१ रन बनाए । करण केसीले पाँच तथा सन्दीप लामिछानेले दुई रन बनाए ।

अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक चार विकेट लिए । नोस्थुस केंजिगे र साड्ली भान शाक्लीले समान दुई–दुई तथा जसदीप सिंह र हरमित सिंहले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २८१ रनको योगफल बनाएको थियो ।

अमेरिकाका लागि साइतेजा मकामल्लाले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ८७ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिएका हुन् । त्यस्तै, कप्तान मोनांक पटेलले ८१ बलमा पाँच चौका र एक छक्कासहित ६७ रन जोडे । ओपनर शयान जहानजिगर १० र आरोन जोन्स २६ रनमा आउट भए । हरमित सिंहले ४४ बलमा तीन चौका र तीन छक्कासहित ५९ रनको योगदान गरे ।

नेपालका गुल्सन झाले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए । त्यस्तै, कुशल भुर्तेलले एक विकेट झारे । नेपाल लिग– २ मा ११ खेलमा दुईमा जित र आठमा हारसहित पाँच अंकका साथ अंकतालिकाको सातौँ स्थानमा छ ।

त्यस्तै, अमेरिका १२ खेलमा आठमा जितसहित १६ अंकका साथ शीर्षस्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ । अब नेपालले भोलि स्कटल्यान्डसँग खेल्नेछ ।      

 

See More On

सुझावित समाचार