नेपाल संवत् ११४५ : आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै

शनिबार, १७ कार्तिक, २०८१
डिजिटल संस्करण

नेपाल संवत् ११४५ प्रारम्भ

नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ (इ. सं. ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए । पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवतले राष्ट्रिय संवतकाे मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले बताए।

‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो,’ उनले भने।

वि.सं. २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रूपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

वि.सं. २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका हुन् । काठमाडौंमा कात्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरुवात गर्ने परम्परासमेत अझै छ ।     

 

सुझावित समाचार