बाराको महागढीमाई नगरपालिका–१, सेमरा तेगछिया नयाँ टोलमा भएको हत्यामा संलग्न एक आरोपीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।
अनुसन्धानको क्रममा, सोही स्थानका ६४ वर्षीय सोथाई चौधरी भनिने सोथाई खाँ थारूलाई प्रहरीले पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो। प्रारम्भिक अनुसन्धानबाट यो घटना जग्गासम्बन्धी पुरानो रिसइबीको कारण भएको प्रहरीको भनाइ छ।
चौधरीले हत्या गर्न प्रयोग गरिएको २.५ इन्च चौडाइ र १ फिट ७ इन्च लामो फलामको खुकुरीलाई आफ्नो घरपछाडि झाडीमा लुकाएको अवस्थामा प्रहरीले बरामद गरेको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।
अन्दाजी ५५ वर्षीय नारायणप्रसाद यादवको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। गत २०८१ साल कात्तिक १० गते साँझ साढे सात बजे यादव पसलबाट घर फर्कने क्रममा अज्ञात व्यक्तिले टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए।