पाँच वर्षसम्म भारतमा बन्धक बनाइएकी बैतडीकी एक महिलालाई उद्धार गरेर नेपाल फर्काइए पनि दुई बालबालिकासहित पुनः सम्पर्कविहिन भएकी छिन् । रोजगारीको सिलसिलामा श्रीमान्सहित कर्नाटक राज्यको मन्डिया पुगेकी उनलाई त्यहाँका एक व्यवसायीले पाँच वर्षसम्म बन्धक बनाएर राखेका थिए । नेपाली कामदारले थाहा पाएपछि उनको गत १५ जेठमा उद्धार गरिएको थियो ।
‘बन्धक बनाइएपछि उनीमाथि निरन्तर यौन हिंसा र श्रमशोषण भएको देखिन्छ । उनकी सात वर्षीया छोरीमाथि समेत यस्तो भइरहेको रहेछ,’ उद्धारमा खटिएका युवा मनोज धामीले भने । महिलालाई रातदिन श्रम गराउने र सात वर्षीय छोरीलाई उनीबाट छुटाएर मालिकका छोराले आफूसँग राखेको अवस्थामा उद्धार गरेको उनले बताए ।
पाटन नगरपालिका–४ का वडाध्यक्ष भन्छन्—
हामीले यतै बस्न सहयोग गर्छौँ भनेका थियौँ, तर उहाँले अप्ठ्यारो मान्नुभयो कि खै के सोच्नुभो । त्यसपछि मोबाइल अफ छ, समाजिक सञ्जालमा पनि सक्रिय देखिनुहुन्न ।
३०–३५ जना नेपाली युवा, स्थानीय प्रहरी र भारतीय जनप्रतिनिधिसमेतको प्रयासमा सात वर्षीया छोरी र १० वर्षीय छोरासहित महिलाको उद्धार गरिएको धामीले बताए । धामी नेपाली जनउत्थान समाज नामक संस्थाका अध्यक्ष हुन् । ‘बन्धक बनाएको सूचना पाएपछि उद्धार गरेका हौँ,’ उद्धारमा खटिएका बैतडी पाटन– १ का नरेश विकले भने, ‘तीनैजनालाई २१ जेठमै नेपाल पठाइएको हो ।’ एकपटक बन्धक बनाएको सूचना महिलाले पठाएकी थिइन् । तर, मालिकले थाहा पाएपछि उनको मोबाइल थुतेर राखिदिँदा उद्धार गर्न नसकिएको विकले बताए ।
सँगै काम गर्ने भारत उत्तर प्रदेशकै युवाले समाजिक सञ्जालबाट पुनः आफूसहित नेपाली महिलालाई बन्धक बनाएको सूचना दिएपछि उद्धार गरेको उनले जानकारी दिए । उद्धार सुरक्षाको हिसाबले जोखिमपूर्ण रहेको हुँदा प्रहरी र स्थानीय विधायकलाई समेत साथमा लगेको विकले बताए । विकका अनुसार महिलाका श्रीमान्लाई कुटपिट गरेर बेपत्ता पारिएको खुलेको थियो । त्यहाँ काम गर्ने एकजना मजदुर र महिलाबाट सो कुरा खुलेको उनले बताए । ‘उनका श्रीमान्लाई कुटपिट गरेर गाडीमा राखेर जंगलमा लगेर छोडिएको रहेछ । उनी अहिले मानसिक सन्तुलन गुमाएर सडकमा माग्दै हिँड्छन् भन्ने थाहा पाएका छौँ,’ विकले भने । कर्नाटक राज्यको मन्डियामा जमिन भाडामा लिएर गौशाला खोलेका बसिया गौडा भन्ने व्यक्तिले बन्धक बनाएकी महिलाले उद्धारकर्ता त्यहाँ पुग्दा तारबाट हाम फालेको भिडियोमा समेत देख्न सकिन्छ ।
नेपाल फर्किएपछि सम्पर्कविहीन
उद्धार गरेर नेपाली संघसंस्थाले ३० हजार भारतीय रुपैयाँ संकलन गरेर महिलासहित दुई बालबालिकालाई नेपाल पठाएका थिए । महेन्द्रनगरमा रहेका उनका आफन्तकहाँ केही समय बसेर असारमा उनी बैतडी पुगेकी थिइन् । गाउँ फर्किएपछि उनका छोरा र छोरीको पढाइका लागि सहयोग गर्ने भन्दै स्थानीय विद्यालयमा भर्ना गरिदिएको पाटन– ४ का वडाध्यक्ष दीपकसिंह विष्टले बताए । आफन्तहरूले उनलाई बस्न दिएको र बच्चाहरूलाई पढ्न नगरपालिकाले तत्काल २० हजार सहयोग गर्ने निर्णय गरेको विष्टले जानकारी दिए । पछि आफन्तकोमा बस्न अप्ठ्यारो मानेर १२ साउनमा धनगढी जाने भन्दै हिँडेको स्थानीयले बताए । ‘हामीले यतै बस्न सहयोग गर्छौँ भनेका थियौँ, तर उहाँले अप्ठ्यारो मान्नुभयो कि खै के सोच्नुभो,’ एक आफन्तले भनिन्, ‘त्यसपछि मोबाइल अफ छ, समाजिक सञ्जालमा पनि सक्रिय देखिनुहुन्न ।’ उनका अनुसार भारतमा काम गर्ने शाही थरका कुनै व्यक्तिले नेपालमै काम खोजिदिने भन्दै बोलाएका थिए ।
भारतमा असुरक्षित नेपाली महिला र बालबालिका
रोजगारीका लागि परिवारसहित भारतका विभिन्न ठाउँ पुग्ने नेपाली कामदारका साथमा जाने महिला र बालबालिका सुरक्षित नरहेको दुई दशकदेखि कर्नाटक क्षेत्रमा काम गर्दै आएका नरेश विक बताउँछन् । ‘महिला र बालबालिकासँग सम्बन्धित थुप्रै घटना हुन्छन्, सकेको सहयोग हामी पनि गर्छौँ,’ विक भन्छन्, ‘लोग्ने काममा जाँदा उनीहरूका श्रीमतीलाई प्रलोभन वा दबाब दिएर भगाउने र पछि छोराछोरीसमेतले दुःख पाउने गरेको पाइन्छ ।’ यस्ता घटनामा भारतीय र नेपाली पनि सक्रिय रहने उनले बताए ।
केही समयअघि डडेल्धुरा आलीताल–४ की महालक्ष्मी रानाको क्रूर र अमानवीय ढंगले हत्या गरिएको थियो । उनको हत्यापछि शरीर ३० टुक्रा बनाएर फ्रिजमा राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
केही दिनअघि मात्र बझाङकी बोहरा थरकी एक महिलाको दुई वर्षको बच्चासहित सडकबाट उद्धार गरिएको थियो । उनकै देवर पर्ने युवकको जिम्मा लगाएर नेपाल पठाइएको थियो ।