लुम्बिनी प्रदेशमा चेतनारायण आचार्यको नेतृत्वको सरकारले सय दिन पूरा गरेको छ। सय दिनसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकाे मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारले बुधबार एक सय दिनमा एक सय एक उपलब्धि हासिल गरेको भन्दै सार्वजनिक गरेको छ।
बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको उपलब्धिमा नागरिकमा बढ्दै गएको निराशालाई आशामा रुपान्तरण गर्न, प्रदेश सरकारको भूमिकालाई स्थापित गर्न, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन प्रदेश सरकार सफल भएको दाबी गरिएको छ।
सय दिनमा प्रदेश सरकारले नीतिगत र कानुनी सुधार, शासकीय सुधार र सुशासन, विकास व्यवस्थापन, वित्तीय प्रबन्ध, शिक्षा, स्वास्थ्यलगायतका सामाजिक क्षेत्र, कृषि र स्वरोजगारको क्षेत्र, पर्यटन, संस्कृति र पर्यावरण, सूचना प्रविधिको विकास र प्रयोग, गुनासो व्यवस्थापन, जनतासँगको संवादलगायतलाई प्राथमिकतामा राखेर कामकारबाही गर्दै आएको मुख्यमन्त्री आचार्यले बताए ।
प्रदेशको आन्तरिक आयस्रोत वृद्धि गर्न राजस्वको दायरा फराकिलो बनाउने, आर्थिक अनुशासनलाई कडाइका साथ कार्यान्वयन गर्ने, अघिल्लो वर्षको दायित्व भुक्तानीलाई अघि बढाउने आधार तयार गरिएको मुख्यमन्त्री आचार्यको भनाइ छ।
गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले साउन ९ मा शपथ तथा पदभार ग्रहण गरेका थिए। कांग्रेसबाट पाँचजना मन्त्री बनाउने सहमति भए पनि कांग्रेसले सुरुमा चारजनालाई मात्रै पठाएको थियो । ती चार जनामध्ये पछि विवादमा परेका कुर्मीले राजीनामा दिएका थिए।
बाँकेकी निर्मला कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप लागेका कुर्मीले राजीनामा दिएपछि कांग्रेसको कोटाका दुईजना मन्त्री खाली रहेको अवस्थामा गत बुधबार दुईजना थपिएका थिए। साना दलबाट दुईजनालाई मन्त्री बनाउने भने पनि हालसम्म एकजना मात्रै नियुक्त गरिएको छ भने एक मन्त्रालय खाली राखिएको छ।
मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिएका थिए। उनी एमाले र कांग्रेसका ५६ जना प्रदेश सभा सदस्यको समर्थनमा नियुक्त भएका थिए भने ७० जनाले विश्वासको मत प्रदान गरेका थिए।