मिडिया सही त हुनुपर्छ नै सही छ भन्ने अरूले पत्याउनु पनि उत्तिकै आवश्यक हुन्छ । दुर्भाग्य, हामी विश्वसनीय हुन असफल भइरहेका छौँ ।
विश्वास र प्रतिष्ठासम्बन्धी वार्षिक सार्वजनिक सर्वेक्षणमा पत्रकार र मिडिया लगातार अधोगमनमा देखिएका छन् । यद्यपि, यिनको विश्वसनीयता कंग्रेसको भन्दा माथिल्लोस्तरमै हुनेगथ्र्याे । तर, यो वर्षको ग्यालप सर्वेक्षणले भने पत्रकार र मिडियाको विश्वसनीयता अहिले कंग्रेसको भन्दा तल झरेको देखाएको छ । विश्वसनीयता नभएको कुनै पेसा छ भने अहिले त्यो पत्रकारिता भएको छ । हाम्रो वर्तमान दृष्टिकोण पक्कै पनि प्रभावकारी छैन । यसलाई सरल रूपमा बुझ्न ‘भोटिङ मेसिन’को उदाहरण लिऔँ । भोटिङ मेसिनले दुईवटा सर्त पूरा गर्नैपर्छ । तिनले मतको एकदमै सही गणना गर्नुपर्छ अर्काे आममानिसले यी मेसिनले सही रूपमा मतगणना गर्छन् भन्नेमा विश्वास गर्नुपर्छ । दोस्रो सर्त पहिलोभन्दा टड्कारो हुन्छ र यो पहिलोजत्तिकै महत्वपूर्ण पनि छ । पत्रपत्रिकाको हकमा पनि ठिक यही कुरा लागू हुन्छ । हामी सही हुनु त पर्छ नै हामी सही छाैँ भन्ने कुरा पत्याइनु पनि उत्तिकै आवश्यक हुन्छ । दुर्भाग्यवश हामी विश्वसनीय हुन असफल भइरहेका छौँ किनभने धेरै मानिसले मिडियालाई पक्षपाती सूचनाको स्रोतको रूपमा हेर्छन् । यो वास्तविकतालाई अनदेखा गर्नु हितकारी छैन । हाम्रो विश्वसनीयताको क्षयीकरणका लागि अरूलाई दोष दिनुको कुनै अर्थ छैन र गुनासो समाधान पनि होइन । हामीले विश्वासलाई पुनः जगाउन के गर्न सक्छौँ त्यसमा ध्यान केन्द्रित गर्नु आवश्यक छ ।
राष्ट्रपतीय चुनावमा कुनै एक उम्मेदवारलाई गरिने प्रोत्साहनले चुनावी नतिजालाई असर गर्दैन । पेन्सल्भेनियाको कुनै एक अनिर्णीत मतदाता पत्रिकाले कसलाई समर्थन गर्छ भन्नेबाट प्रभावित हुँदैन । बरु यसले पूर्वाग्रह र निर्भरताको धारणा सिर्जना गर्छ । यसलाई अन्त्य गर्नु एउटा सैद्धान्तिक र सही कदम हुन्छ । सन् १९३३ देखि १९४६ सम्म वासिङ्टन पोस्टका प्रकाशक युजिन मेयरले पनि त्यस्तै धारणा राख्थे । उसो त, यो परिवर्तनले मात्र हाम्रो विश्वासको स्तर बढाउँदैन, तर यो सही दिशातर्फको एक पाइला हो । हामीले यो परिवर्तन पहिले नै अर्थात् चुनावी सरगर्मीभन्दा पहिले नै गरेको भए हुन्थ्यो भन्ने म चाहन्थेँ किनभने योजनाबद्ध निर्णय हितकारी देखिन्थ्यो ।
स्पष्ट रहोस्, यो निर्णयका पछाडि कुनै लेनदेन भएको छैन । यो निर्णय न त चुनावी अभियान न त उम्मेदवारसँग परामर्श वा न अन्य कुनै ढंगले सूचित गरिएको थियो । निर्णय पूर्णतया आन्तरिक थियो । मेरो एक कम्पनी ब्लु ओरिजिनका प्रमुख कार्यकारी अधिकारी डेभ लिम्पले हामीले घोषणा गरेका दिनमा पूर्व(राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार ट्रम्पसँग भेटघाट गरेका थिए । जब मैले यो भेटबारे थाहा पाएँ म निकै गम्भीर भएको थिएँ । यद्यपि, लिम्प र मलाई बैठकको बारेमा पहिले नै थाहा थिएन र बैठक बिहान मात्रै निर्धारण भएको थियो । यो बैठक र वासिङ्टन पोस्टको कुनै पनि उम्मेदवारलाई प्रोत्साहन नगर्ने निर्णयबिच कुनै सम्बन्ध छैन । अन्यथा अर्थ लगाइन्छ भने त्यो गलत हुन्छ ।
यी कथित विवादका सन्दर्भमा म वासिङ्टन पोस्टका लागि आदर्श मालिक नहुन सक्छु । अमेजन, ब्लु अरिजिन र म संलग्न भएका अन्य व्यवसायका प्रमुख कार्यकारी अधिकृत नियमित रूपमा सरकारी अधिकारीसँग भेटघाट गरिरहन्छन् । मैले कुनै समय यो पत्रिका मेरा लागि ‘ऐँजेरु’ हो भनेको थिएँ र अहिले म आफैँ यसका लागि ‘ऐँजेरु’ हुँ भन्ने लाग्छ । मेरो सम्पत्ति र व्यापारिक चासोलाई बाहिरी दबाबविरुद्धको रक्षाकवच वा सम्भावित स्वार्थको द्वन्द्वको सञ्जालका रूपमा हेर्न सकिन्छ । अन्ततः मेरा सिद्धान्तले यो सन्तुलनलाई पछ्याउँछ र पोस्टमा सन् २०१३ देखिको मेरो स्वामित्वको अवस्थाले यसलाई समर्थन गर्छ । तपाईं मेरो मूल्यांकन गर्न स्वतन्त्र हुनुहुन्छ, तर म तपाईंलाई एक त्यस्तो उदाहरण पत्ता लगाउन चुनौती दिन्छु जहाँ मैले मेरो व्यक्तिगत स्वार्थ पूरा गर्न पोस्ट प्रयोग गरेको होला । तपाईंले भेट्नुहुन्न किनभने यो भएकै छैन ।
विश्वसनीयताको अभाव पोस्टका लागि अनौँठो होइन । वास्तवमा विश्वसनीयताको मुद्दा अन्य धेरै पत्र–पत्रिकाले सामना गर्ने गर्छन् र यसले समग्र राष्ट्रलाई असर गर्छ । आममानिस पोडकास्ट, सामाजिक सञ्जाल र अन्य अप्रमाणित स्रोततर्फ आकर्षित भइरहेका छन् नतिजा मिथ्या सूचना फैलिँदै छ र विभाजन बढ्दै छ । वासिङ्टन पोस्ट र न्यु योर्क टाइम्सले पुरस्कार जितिरहेको भए पनि हामी बढ्दो रूपमा एक विशिष्ट अभिजात वर्गका दर्शकसँग मात्रै संवाद गरिरहेका छौँ वा आफैँसँग संवाद गरिरहेका छौँ । तथापि, सन् १९९० को दशकमा यो अवस्थामा थिएनौँ, हामी वासिङ्टन डिसी क्षेत्रका ८० प्रतिशत घरपरिवारमा पुग्थ्यौँ ।
म पोस्टमार्फत मेरा व्यक्तिगत स्वार्थ पस्किनेछैन, तर म पोस्टलाई दिशाहीन अटोपाइलटजस्तो अप्रासांगिक हुन पनि दिनेछैन, अर्थात् यसमा अनुसन्धान नगरिएका पोडकास्ट र सामाजिक सञ्जालको सनसनीले ठाउँ पाउनेछैनन् । यो अडान जोखिममुक्त भने छैन । विश्वलाई एक विश्वसनीय, स्वतन्त्र आवाज चाहिन्छ र यसका लागि सबैभन्दा प्रभावशाली राष्ट्रको राजधानीभन्दा राम्रो ठाउँ अन्य हुन सक्दैन । यो लडाइँ जित्न हामीले नयाँ पाखुराको अभ्यास गर्नुपर्नेछ । केही परिवर्तन विगतमा फर्कनु हुनेछ भने केही परिवर्तन नयाँ आविष्कार हुनेछन् । आलोचना कुनै पनि नयाँ कुराको अभिन्न हिस्सा नै हुन् । यिनले सधैँ परिवर्तनलाई साथ नै दिनेछन् । यो पक्कै पनि सजिलो हुनेछैन, तर गर्नलायक काम यही हो । सत्यको खुलासा गर्न दिनहुँ खट्ने उत्कृष्ट पत्रकारसहित यो मिसनको हिस्सा बन्न पाउँदा कृतज्ञ छु । यी पत्रकार विश्वास गर्न लायक छन् ।
(बेजोस द वासिङ्टन पोस्टका मालिक हुन्) द वासिङ्टन पोस्टबाट