सम्पूर्ण किताब नारायणगढ र एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनको संयुक्त आयोजनामा लेखक गोपी सापकोटासँग बिहीबार ‘परदेश संवाद’ गरिएको छ।
लन्डन बसाइका भोगाइ समेटिएको सिर्जनात्मक गैरआख्यान ‘लन्डन अनप्लग्ड’का लेखक सापकोटासँग सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले संवाद गरेका हुन्। संवाद कार्यक्रममा सापकोटाले लेखकसँग वैदेशिक मोह, विदेशको बसाइ, कामको अवस्थाका बारेमा कुराकानी गरेका थिए।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले विदेशको उच्च शिक्षा अध्ययन र त्यहाँ रहेका नेपाली विद्यार्थीहरूको अवस्थाका बारेमा लेखकलाई जिज्ञासा राखेका थिए।
कार्यक्रममा कवि ईश्वर कँडेलले हचुवाका भरमा विदेश जाँदा समस्या आइपर्ने भन्दै केही काम सिकेर मात्रै विदेश जाँदा राम्रो हुने बताएका थिए। पत्रकार सूर्यप्रकाश कँडेल, सामाजिक अभियन्ता प्रकाश पौडेल र एक्सपर्ट एजुकेसनका बिजनेस डेभलपमेन्ट मेनेजर विनोदबाबु रिजालले लेखक सापकोटालाई विभिन्न जिज्ञासा राखेका थिए।
सुरुमा नेपालमा प्रख्यात सामाजिक जीवन छोडेर जाँदा लन्डनमा धेरै कुरा अप्ठ्यारो भएको भन्दै विस्तारै परिस्थिति सजिलो बन्दै गएको उनले बताए। ‘विदेश जानु भनेको थप समृद्धि खोज्न निस्कनु हो,’ सापकोटाले भने, ‘त्यहाँ आइपर्ने अप्ठ्यारा टार्न सक्ने भएर जानुहोला।’
सापकोटाले वैदेशिक उच्च शिक्षा, विदेशी जीवन, भोगाइलगायतका अनुभव सुनाएका थिए।