आठ लाख रुपैयाँ बोकेर हिँडेका युवकलाई काठमाडौंको डल्लुबाट प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भूले गोठाटार बस्ने २५ वर्षीय अभय प्रधानलाई सोमबार पक्राउ गरेको हो।
डल्लुस्थित बागमती करिडोरबाट प्रहरीले उनलाई स्कुटरसहित नियन्त्रणमा लिएको हो। प्रधानले सो रकमको स्रोत खुलाउन सकेका छैनन्।
अदालतबाट थुनामा राख्ने म्याद लिई सो रकमबारे अनुसन्धान अघि बढाइएको स्वयम्भू वृत्तका डिएसपी उद्धव भाटले बताए। प्रधानले जुवामा लगानी गर्न सो रकम लिएर हिँडेको सूचना प्रहरीको छ।