११औँ संस्करणको मिस पोखरा– २०२४ को उपाधि सृष्टि खड्काले हात पारेकी छिन्। युवा नारीहरूको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने उद्देश्यसहित पोखरा जेसिजले आयोजना गरेको प्रतियोगिताको शनिबार साँझ सम्पन्न फाइनलमा अन्य १५ प्रतिस्पर्धीलाई पछि पार्दै सृष्टिले उपाधि हात पारेकी हुन्।
पोखरा– १४ काजीपोखरीनिवासी सृष्टिले उपाधिसँगै स्कुटर, एक हप्ताको अस्ट्रेलिया भ्रमण, नगद ५० हजार र अन्य गिफ्ट ह्याम्पर पुरस्कारका साथै मिस नेपालको अन्तिम प्रतिस्पर्धामा समेत सीधै प्रवेश पाउने भएकी छिन्। डाँफे हाउजिङ एन्ड रियल इस्टेट प्रालि टाइटल स्पोन्सर रहेको प्रतियोगितको उपाधिसँगै उनले भ्युअर च्वाइस, बेस्ट पपुलारिटी र बेस्ट पर्सनालिटी गरी तीन सबटाइटलको उपाधिसमेत जितिन्।
पोखरा जेसिजले ६ वर्षपछि मिस पोखरालाई निरन्तरता दिएको हो। यसअघि सन् २०१८ मा १०औँ संस्करणको प्रतियोगिता सम्पन्न गरेको थियो।
११औँ संस्करणमा रेखा गैरे फर्स्ट रनर अप हुँदै ३० हजार रुपैयाँ र जेसिका विश्वकर्मा घिमिरे सेकेन्ड रनरअप हुँदै २० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाए। रेखाले बेस्ट इन्टेलेक्टको र जेसिकाले बेस्ट ड्रेस तथा क्याटवाकको सबटाइटलसमेत हात पारे।
प्रतियोगिताका लागि तीन चरणको अडिसनपछि देशभरबाट छानिएका १६ प्रतिस्पर्धीलाई एक महिनासम्म विभिन्न तालिमपछि शनिबार पोखरा सभागृहमा ग्रान्ड फिनालेको र्याम्पमा उतारिएको आयोजक पोखरा जेसिजका अध्यक्ष देवराज शर्माले जानकारी दिए। अन्तिम प्रतिस्पर्धाका लागि र्याम्पमा उतारिएका १६ जनामध्येबाट पाँचजना छनोट गरी उपाधि विजेता चयन गरिएको शर्माले बताए। रेड कार्पेटसहित कार्यक्रम करिब पाँच घण्टा चलेको थियो।
युवा नारीहरूले आफूभित्र रहेको क्षमतालाई प्रस्फुटन गराई समाजमा आफ्नो नेतृत्व स्थापित गर्न सक्छन् भन्ने उद्देश्यले आयोजित प्रतियोगितामा सहभागीहरूलाई फरकफरक विधामा विषयविशेषज्ञहरूद्वारा प्रशिक्षण, अभिमुखीकरणसँगै उद्घोषण तथा वक्तृत्व, नृत्य, हेल्थ टिप्स, बैंकिङ तथा आर्थिक व्यवस्थापन, पर्यटन, व्यक्तित्व विकासलगायत धेरै विषयका तालिम दिइएको शर्माले जानकारी दिए।