इंग्लिस युवा अलराउन्डर लुक चितवन राइनोजमा

सोमबार, १२ कार्तिक, २०८१
डिजिटल संस्करण

चितवन राइनोजले इंग्लिस युवा अलराउन्डर लुक मार्टिन बेनकेन्स्टाइनलाई अनुबन्ध गरेको छ । लुकले १५ मंसिरबाट काठमाडौंमा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपिएलमा) चितवनबाट खेल्नेछन् । उनी चितवनमा भित्रिने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि चितवनले दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर डी ल्याङलाई अनुबन्ध गरेको थियो ।

जनवरीमा भएको यू–१९ विश्वकपमा १९ वर्षीया लुकले इंग्ल्यान्डको उपकप्तानको जिम्मेवारी सम्हालेका थिए । ब्याटिङ र बलिङमा उनले राम्रो प्रदर्शन गर्न सक्छन् । १७ वर्षको उमेरमा एसेक्सबाट लुकले काउन्टी क्रिकेटमा ४२–६ को कीर्तिमान राखेका थिए । सन् २०२२ मा ग्वादर सार्कसलाई पाकिस्तान सुपर लिग (पिएसएल)को फाइनलमा पुर्याउन उनले ३७ बलमा ७१ रनको योगदान दिएका थिए ।

लुकले लिस्ट ‘ए’मा १९ खेलमा तीन अर्धशतकको सहयोगमा ४५१ रन बनाएका छन् । ११ टी–२० खेलमा उनले एक अर्धशतकमा १३६ रन जोडेका छन् । बलिङको क्रममा उनले लिस्ट ‘ए’ मा १९ खेलबाट १३ विकेट हात पारेका छन् । लुक आफ्नो परिवारबाट तेस्रो पुस्ताका क्रिकेटर हुन् । उनका बुबा डेल बेन्केन्स्टाइनले दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका थिए । उनका हजुरबुबा मार्टिन बेन्केन्स्टाइनले जिम्बावेको प्रतिनिधित्व गरेका थिए । त्यस्तै, उनका काका ब्रेट र बोयडले पनि व्यावसायिक क्रिकेट खेल्थे । चितवन राइनोजको प्रतिनिधित्व गर्न आफू आतुर रहेको लुकले बताएका छन् ।

‘नेपाली समर्थकले सिर्जना गर्न सक्ने वातावरण जुनसुकै खेलाडीलाई लोभ्याउने खालको छ,’ लुकले भने, ‘मेरो करिअरको यो चरणमा सही किसिमको चुनौती हो । म चितवन राइनोजको प्रतिनिधित्व गर्न र आफ्नो प्रदर्शन देखाउन आतुर छु ।’

सुझावित समाचार