पर्यावरण संरक्षणका लागि ग्रिनसिफ्ट अभियान महत्त्वपूर्ण : इयू राजदूत

शुक्रबार, ९ कार्तिक, २०८१
डिजिटल संस्करण

नेपालका लागि युरोपेली संघ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले जलवायु परिवर्तन, पर्यावरण संरक्षण र दिगो विकासका लागि ग्रिनसिफ्ट परियोजनाको अभियान महत्त्वपूर्ण भएको बताएकी छिन्।

इयूको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रिनसिफ्ट नेपाल परियोजनाको बिहीबार धुलिखेलमा सम्पन्न वार्षिक समीक्षा तथा अनुभव साझा कार्यक्रममा उनले यस्तो बताएकी हुन्। उनले नेपालका निम्ति अभियानमार्फत युवाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि बल गर्नुपर्नेमा जोड दिइन्।

ग्रिनसिफ्ट अभियान आफ्नो मुटुको धेरै नजिक रहेको भावना व्यक्त गर्दै उनले युवाहरूले चाहे हरेक परिवर्तन सम्भव हुने बताइन्। ‘युवाहरू परिवर्तनका संवाहक हुन्, उनीहरूले चाहेमा जे कार्य पनि सम्भव हुन्छ । यसको ज्वलन्त उदाहरण यही परियोजनाले एक वर्षमा प्राप्त गरेको उपलब्धि नै एक मानक हो,’ उनले भनिन् ।

राजदूत लोरेन्जोले कार्यक्रममा सहभागी भएका युवा विद्यार्थी र विद्यालयका शिक्षकहरूलाई इंगित गर्दै भनिन्, ‘तपाईंहरू परिवर्तनका लागि आशाको केन्द्र हुनुहुन्छ, हाम्रो वातावरण संरक्षण र संवर्द्धनका लागि सबै मिलेर काम गर्न आह्वान गर्दछु ।’

राजदूत लोरेन्जोले फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रको ढाँचा अनिवार्य लागू गरिनुपर्नेमा थप जोड दिनुपर्ने जिकिर गरिन् । नेपालका लागि चक्रीय अर्थतन्त्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै यसबाट नेपालले फाइदा लिनुपर्ने खाँचो रहेकाे उनकाे भनाइ थियाे । यदि नेपालले ग्रिन इनर्जी (हरित ऊर्जा) को क्षेत्रमा गम्भीरतापूर्वक काम गरे क्षेत्रीय च्याम्पियन बन्न सक्ने उनले विश्वास व्यक्त गरिन् ।

त्यस्तै, क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले ग्रिनसिफ्ट केवल एक परिपयोजना मात्र नभई एक बृहत् अभियान भएको बताए । उनले सामूहिक नेतृत्व र साझा दृष्टिकोण मूल नाराका साथ तीनै तहको सरकार, विद्यालय, विद्यार्थी र शिक्षक, त्यसैगरी समुदायमा काम गर्ने युवा समूह, निजी फोहोरमैला उद्यमी, फोहोरमैला सफाइकर्मीलाई एकै ठाउँमा साझा उद्देश्य प्राप्तिका लागि सहमत गराउनु नै यो अभियानको सफलता हुने बताए । 

यसैगरी, युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले डाटामा आधारित पैरवीहरू आवश्यक भएको हुनाले वेस्टस्मार्ट फेलोहरूले डाटामा आधारित नीति निर्माण गर्न खेलेको योगदान सराहनीय रहेको बताए । 

See More On

सुझावित समाचार