जिल्ला अदालत रुपन्देहीद्वारा रवि लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी

शुक्रबार, ९ कार्तिक, २०८१
डिजिटल संस्करण

जिल्ला अदालत रुपन्देहीले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले बिहीबार १२ जनाविरुद्ध पक्राउ अनुमति दिएको हो ।

अदालतले लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, दीपक लामा, अनन्तबाबु राई, श्रीबल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङविरुद्ध पक्राउ अनुमति दिएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले बताए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि रुपन्देही अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध–निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो । बुटवलको सुप्रिम सहकारीबाट जोशीको नाममा दुई करोड ५० लाख र लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । 

जोशी र लामिछानेसहित जिबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो । अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् । सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक राईसहित अन्य व्यक्ति भने फरार छन्।
 

सुझावित समाचार