सरकारको ऋण तथा सेयर लगानी सवा आठ खर्ब पुग्यो

शुक्रबार, ९ कार्तिक, २०८१
डिजिटल संस्करण

एक वर्षमा ४४ अर्ब लगानी थपिँदा, साँवा–ब्याज असुली पौने ६ अर्बले घट्यो, लाभांश प्राप्ति सवा १९ अर्बले बढ्यो

सरकारले सार्वजनिक संस्थान, निकाय तथा अन्तर्राष्ट्रिय संस्थामा गरेको लगानी सवा आठ खर्ब पुगेको छ । विभिन्न एक सय ५० वटा संस्थामा सरकारको सेयर र ऋण गरी कुल आठ खर्ब २७ अर्ब ५१ करोड १२ लाख रुपैयाँ लगानी पुगेको हो । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष ०८०/८१ सम्म सरकारले तीन खर्ब ९५ अर्ब १९ करोड ३४ लाखबराबर सेयर लगानी र चार खर्ब ३२ अर्ब ३२ करोड ७७ लाख ऋण लगानी गरेको हो । यस अवधिसम्म कुल लगानीमा ऋणको अंश ५२ प्रतिशत र सेयरको अंश ४८ प्रतिशत रहेको कार्यालयले जनाएको छ । 

सरकारले लगानी गरेअनुसारको प्रतिफल भने प्राप्त गर्न सकेको छैन । गत आवमा लगानी बढे पनि साँवा–ब्याज असुली पाँच अर्ब ८२ करोड आठ रुपैयाँले घटेको छ । तर, लाभांश प्राप्त भने १९ अर्ब २२ करोड ७९ लाख रुपैयाँले बढेको छ । उक्त आवमा सरकारले साँवा, ब्याज र लाभांश गरी कुल ६१ अर्ब ३२ करोड ३२ लाख रुपैयाँ प्राप्त गरेको कार्यालयको तथ्यांक छ ।

एक वर्षमै थपियो ४४ अर्ब लगानी
गत आव ०८०/८१ मा सरकारले कुल ४४ अर्ब ३३ करोड रुपैयाँ थप लगानी गरेको छ । जसमध्ये नौ अर्ब सात करोडबराबरको सेयर लगानी र ३५ अर्ब २६ करोड ऋण लगानी गरेको हो । यस आवमा सरकारले कुल ४९ अर्ब ३१ करोड लगानी गरेको भए पनि दुई अर्ब २८ करोड भने समायोजन हुन गएको हो । 

धेरै लगानी विद्युत् प्राधिकरणमा
सरकारले गत आवसम्ममा सबैभन्दा बढी ऋण लगानी नेपाल विद्युत् प्राधिकरणमा गरेको छ । कार्यालयका अनुसार प्राधिकरणमा सरकारको ऋण लगानी दुई खर्ब ६९ अर्ब ४८ करोड (६२%) पुगेको छ ।

त्यस्तै, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डमा ५२ अर्ब ६७ करोड (१२%) र नेपाल नागरिक उड्डयन प्राधिकरणमा ३५ अर्ब ११ करोड (८%) ऋण लगानी पुगेको छ । कार्यालयका अनुसार साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडमा १९ अर्ब (४%)र नेपाल खानेपानी संस्थानमा १८ अर्ब ६८ करोड (४%)ऋण लगानी पुगेको छ ।

सबैभन्दा बढी सेयर लगानी भएको संस्थानमा नेपाल विद्युत् प्राधिकरण रहेको छ । विद्युत् प्राधिकरणमा हालसम्म एक खर्ब ८१ अर्ब ३३ करोड सेयर लगानी भएको छ । जुन नेपाल सरकारले गरेको सेयर लगानीको ४६ प्रतिशतबराबर हुन आउँछ । त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणमा ६२ अर्ब ७४ करोडको र नेपाल टेलिकममा १६ अर्ब ४७ करोडको सेयर लगानी रहेको छ । सरकारले गरेको कुल सेयर लगानीमा नागरिक उड्डयन र टेलिकमको हिस्सा क्रमशः १५ प्रतिशत र ४ प्रतिशत रहेको छ । सरकारको बढी सेयर लगानी रहेका अन्य संस्थामा राष्ट्रिय वाणिज्य बैंकमा १५ अर्ब ६३ करोड, कृषि विकास बैंकमा १३ अर्ब ३० करोड, जलविद्युत् लगानी तथा विकास कम्पनीमा १२ अर्ब ४७ करोड, नेपाल आयल निगममा १० अर्ब ९४ करोड रुपैयाँको रहेको छ । 

लाभांश सवा १९ अर्बले बढ्यो 
सरकारले विभिन्न संस्थान, निकाय तथा कम्पनीमा गरेको सेयर लगानीबाट साढे ४६ अर्ब रुपैयाँ लाभांश प्राप्त गरेको छ । गएको आर्थिक वर्ष ०८०/८१ मा सरकारले सेयर लगानी गरेका संस्थाबाट ४६ अर्ब ६० करोड ८५ लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको हो । जुन अघिल्लो आवको भन्दा १९ अर्ब २२ करोड ७९ लाख रुपैयाँले बढी हो । सरकारले गरेको तीन खर्ब ९५ अर्ब १९ करोड ३४ लाख रुपैयाँ सेयर लगानीबाट सोबराबरको लाभांश प्राप्त गरेको हो । जुन प्रतिफल कुल लगानीको ११.७९ प्रतिशतबराबर हुन आउँछ ।

सुझावित समाचार