संसदीय छानबिन समितिका सभापति सूर्य थापा फेसबुकमा लेख्छन्–सहकारी ठग जिबीको कानुनी सल्लाहकार रहेको व्यक्ति राष्ट्रपतिको सल्लाहकारमा विराजमान रहनु राष्ट्रकै लज्जा

छानबिन समितिले भने बाबुराम कुँवरको बयानसमेत लिएको थिएन

शुक्रबार, ९ कार्तिक, २०८१
डिजिटल संस्करण
संसदीय छानबिन समितिका सभापति सूर्य थापा फेसबुकमा लेख्छन्–सहकारी ठग जिबीको कानुनी सल्लाहकार रहेको व्यक्ति राष्ट्रपतिको सल्लाहकारमा विराजमान रहनु राष्ट्रकै लज्जा

सूर्य थापा, सभापति, संसदीय विशेष छानबिन समिति

नयाँ पत्रिकालाई थापाको आरोप–छानबिन समितिलाई कम महत्व दिएको र तथ्य तोडमोड गरी मिसनकारिता गर्यो

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले सहकारी ठगीमा संलग्न गिरोहका कानुनी सल्लाहकार रहेका बाबुराम कुँवर राष्ट्रपतिको कानुनी सल्लाहकार हुनु राष्ट्रकै लागि लज्जास्पद भएको बताएका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सहकारी ठग जिबी राईको कानुनी सल्लाहकार रहेको व्यक्ति सम्माननीय राष्ट्रपतिको सल्लाहकार पंक्तिमा विराजमान देखिनु भनेको राष्ट्रकै निम्ति एउटा लज्जास्पद दृश्य हो ।’ 

कुँवर जिबीका कानुनी सल्लाहकार मात्रै होईन, कुनै कम्पनीमा साझेदारसमेत रहेको सूचना छानबिन समितिमा पुगेको थियो । अहिले हिरासतमा रहेका जिबीका साझेदार छविराज जोशीले पनि समितिलाई दिएको बयानका कुँवरलाई पोलेका थिए । तर, ‘समयअभाव’ भन्दै समितिले कुँवरको बयान समेत लिएन ।

सभापति थापाले टिओआरमा नभएको र समय अभावका कारण नभ्याएको दाबी गरेका छन् । ‘बाबुराम कुँवर होऊन् वा हरि वशिष्ठ जिबी राई र केदारनाथ शर्मालाई सशुल्क/निःशुल्क सल्लाह दिएर आजको नियतिमा पुर्याउन साथमा रहेको जानकारी नभएको/नआएको होइन,’ उनले लेखेका छन्, ‘तर, हामी कार्यादेश/उजुरी/गुनासो/निवेदनबेगर अरू ढंगले कार्यसम्पादन नगर्न निधारित सीमामा थियौँ । अहिले ब्यानर समाचार बनाउने पत्रिकाको आधार पनि समितिको प्रतिवेदन नै भएको छ, यसमा खुसी नै लागेको छ ।’ 

नयाँ पत्रिकालाई थापाको आरोप–छानबिन समितिलाई कम महत्व दिएको र तथ्य तोडमोड गरी मिसनकारिता गर्यो

थापाले सहकारी ठगीको विषयमा नयाँ पत्रिकाले समितिको कामलाई कम महत्व दिएको र विषयान्तर गरेको आरोप पनि लगाएका छन् । ‘२०८१ भदौ ३१ पछि नयाँ पत्रिका र अरू केही सीमित सञ्चारमाध्यममा रवि लामिछानेलाई संसदीय छानबिन समितिले क्लिनचिट(सफाइ) दिएको भन्ने ब्यानर समाचार सम्प्रेषण गरिनु नै तथ्यको तोडमरोड, भ्रष्टीकरण र घोषित मिसनकारिता थियो । मेरो अनुभवमा संसदीय छानबिन समितिको कामलाई सबभन्दा कम महत्व दिने र कार्यादेशभन्दा विषयान्तर गराउने गरी सम्प्रेषण गर्न निरन्तर उद्यत् भएको ब्रोडसिटमध्ये नयाँ पत्रिका अग्रणी थियो,’ उनको आरोप छ ।
 

सुझावित समाचार