पाँच वर्षपछि मोदी र सीबिच रुसमा द्विपक्षीय बैठक

बिहिबार, ८ कार्तिक, २०८१
डिजिटल संस्करण

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच सन् २०१९ पछि पहिलोपटक द्विपक्षीय बैठक भएको छ । रुसको कजान सहरमा जारी ब्रिक्स सम्मेलनको साइडलाइनमा बुधबार दुई नेताबिच द्विपक्षीय बैठक भएको हो । लद्दाखमा पर्ने दुई देशबिचको वास्तविक सीमारेखा ‘लाइन अफ एक्चुअल कन्ट्रोल (एलओसी)’मा सैन्य अवरोध सुरु भएपछि भारत र चीनबिचको सम्बन्धमा गम्भीर असर परेको थियो ।

चीन र भारतबिच कूटनीतिक र सैन्य तहमा गलवानमा भएको सैन्य झडपका साथै लद्दाखमा कायम गतिरोधलाई सन् २०२० मेअघिको यथास्थितिमा फर्काउने सहमति भएको ७२ घन्टाभित्र मोदी र सीबिच बैठक भएको हो । गलवान उपत्यकामा झडप भएको चार वर्षपछि भएको पछिल्लो सहमतिले दुई देशका सेनाले गर्ने गस्ती व्यवस्था सुनिश्चित गरेको छ । सहमतिसँगै विगत केही वर्ष एलओसीछेउमा गस्ती व्यवस्थामा देखिएको असमझदारी हटेको छ भने दसौँ हजार सेना तैनाथ गरेको क्षेत्रमा तनाव कम हुने संकेत देखिएको छ । 

अघिल्ला संक्षिप्त भेट
सन् २०२० मा गलवानमा झडपपछि भारतका प्रधानमन्त्री मोदी र सीबिच केही छोटो अन्तरक्रिया नभएका भने होइनन् । सन् २०२२ नोभेम्बरमा इन्डोनेसियाको बालीमा भएको जी २० शिखर सम्मेलन र अगस्ट २०२३ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सम्पन्न ब्रिक्स शिखर सम्मेलनको साइडलाइनमा दुई नेताबिच भेट भएको थियो । तर, ती भेट द्विपक्षीय बैठक भने थिएनन्, जसमा व्यापार, अर्थतन्त्र र अन्य विषयमा छलफल गरिने गरिन्छ ।

चार वर्षदेखि भारत र चीनबिच सीधा विमान उडानसमेत रोकिएको थियो । अहिले भारतमा चिनियाँ कम्पनीको लगानीअघि अतिरिक्त सुरक्षा जाँच आवश्यक गरिएको छ । त्यस्तै चिनियाँ प्राविधिकलाई पनि अतिरिक्त जाँचपछि मात्र भिसा दिइन्छ । अब सी र मोदीबिचको द्विपक्षीय बैठकको नतिजाले व्यापार र जनताबिचको सम्बन्ध सामान्य अवस्थामा फर्किने हो वा होइन भन्ने स्पष्ट पार्नेछ ।

चीनका राष्ट्रपति सीले भने–
‘प्रधानमन्त्री महोदय, यहाँ तपाईंलाई भेट्न पाउँदा मलाई धेरै खुसी लागेको छ । हामीले पाँच वर्षको अवधिमा औपचारिक (द्विपक्षीय) भेट गरेको यो पहिलोपटक हो । हाम्रा दुवै देशका जनता र अन्तर्राष्ट्रिय समुदायले हाम्रो यस बैठकलाई नजिकबाट ध्यान दिइरहेका छन् ।

थप सञ्चार र सहकार्यमार्फत हाम्रा मतभेद र असहमतिलाई सही ढंगले समाधान गर्नु र एक–अर्काको विकासका आकांक्षा सहजीकरण गर्नु दुवै पक्षका लागि महत्वपूर्ण छ । दुवै पक्षले आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारी वहन गर्दै विकासोन्मुख देशको बल र एकतामा सहयोग प्रदान गर्नु र अन्तर्राष्ट्रिय सम्बन्धमा बहुध्रुवीकरण र प्रजातन्त्रको प्रवद्र्धनमा योगदान पुर्याएर उदाहरण बन्नु महत्वपूर्ण छ । प्रधानमन्त्रीज्यू, म महामहिमसँग हाम्रो द्विपक्षीय सम्बन्ध र आपसी हितका मुद्दामा विचार आदानप्रदान गर्न तयार छु ।’

भारतका प्रधानमन्त्री मोदीले भने–
‘महामहिम, म तपाईंसँग भेट्न पाउँदा खुसी छु । तपाईंले उल्लेख गर्नुभएजस्तै यो हामीबिच पाँच वर्षपछि भएको (पहिलो) औपचारिक भेटवार्ता हो । भारत–चीनबिचको सम्बन्धको महत्व हाम्रा दुई देशका नागरिकका लागि मात्र नभएर सम्पूर्ण विश्वको शान्ति, स्थिरता र प्रगतिका लागि धेरै महत्वपूर्ण छ भन्ने मेरो विश्वास छ । महामहिम, सीमा क्षेत्रमा विगत चार वर्षको अवधिमा उठेका विषयमा भएको (पछिल्लो) सहमतिलाई हामी स्वागत गर्छाैं । हाम्रो सिमानामा शान्ति र स्थिरता सुनिश्चित गर्नु हाम्रो प्राथमिकता हुनुपर्छ । पारस्परिक विश्वास, सम्मान र संवेदनशीलता हाम्रो द्विपक्षीय सम्बन्धको आधार हुनुपर्छ । आज हामीले यी सबै विषयमा बोल्ने अवसर पाएका छौँ । मलाई विश्वास छ कि हामीले खुला दिमागका साथ वार्ता गर्नेछौँ र हामीबिचको वार्ता रचनात्मक रूपमा अगाडि बढ्नेछ ।’

See More On

सुझावित समाचार