उसुको थाउलो विश्वकप : नेपाल दक्षिण एसियाको एक्लो प्रतिस्पर्धी

बिहिबार, ८ कार्तिक, २०८१
डिजिटल संस्करण

१३औँ दक्षिण एसिलायी खेलकुद (साग)का स्वर्ण विजेता विजय सिँजाली, निमा घर्तीमगर र दीपक हमालसँगै पासाङ शेर्पा र राजीव तामाङले प्रतिस्पर्धा गर्ने

जापानमा आयोजना हुने उसुको थाउलो विश्वकपमा दक्षिण एसियाबाट नेपाल एक्लो प्रतिस्पर्धी बनेको छ । तेस्रो संस्करणमा सहभागी हुन नेपाली टिम बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपालबाट पाँच खेलाडीले प्रतियोगितामा भाग लिँदा दक्षिण एसियाबाट कुनै पनि राष्ट्र छनोट हुन सकेनन् । 

दक्षिण एसियालीस्तरमा थाउलोतर्फ नेपाली उसु टोली बलियो मानिन्छ । नेपाली टोलीमा १३औँ दक्षिण एसिलायी खेलकुद (साग)का स्वर्ण विजेता विजय सिँजाली, निमा घर्तीमगर र दीपक हमालसँगै पासाङ शेर्पा र राजीव तामाङले प्रतिस्पर्धा गर्नेछन् ।

टोकियोस्थित योकोहा सहरमा ७ देखि १२ कात्तिकसम्म हुने प्रतियोगितामा पाँचजना खेलाडी, एक अन्तर्राष्ट्रिय प्रशिक्षक र एकजना व्यवस्थापक गरी सातजना सहभागी छन् । टोलीको व्यवस्थापकमा उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामा छन् । जापान जाने टोलीमा निकेश श्रेष्ठ अन्तर्राष्ट्रिय प्रशिक्षक छन् । नेपाली टोली बुधबार ग्वान्जाओ हुँदै बिहीबार टोकियोमा पुग्ने अन्तर्राष्ट्रिय प्रशिक्षक श्रेष्ठले बताए । 

यस्ता छन् नेपाली खेलाडी 
दीपक हमालले चीनमा भएको १९औँ एसियन गेम्समा सहभागिता जनाएका थिए । अन्तर्राष्ट्रिय आमन्त्रित उसु प्रतियोगिता चीनमा कांस्य पदक जित्न सफल दीपकले १३औँ साग स्वर्ण पदक जितेका थिए । यस्तै, १८औँ र १९औँ एसियन गेम्समा सहभागी विजय सिँजालीले अन्तर्राष्ट्रिय आमन्त्रित उसु प्रतियोगिता चीनमा कांस्य पदक जितेका थिए । १३औँ सागमा स्वर्ण पदक र १०औँ राष्ट्रिय गेम्समा स्वर्ण पदक जितेका उनले रियादमा भएको वर्ल्ड उसु कमब्याट गेम्समा पनि स्वर्ण पदक जितेका छन् । 

निमा घर्तीमगर १८औँ र १९औँ एसियन गेम्समा सहभागी खेलाडी हुन् । उनी चीनमा भएको अन्तर्राष्ट्रिय आमन्त्रित उसु प्रतियोगितामा चौथो भइन् । उनले १२औँ र १३औँ सागमा स्वर्ण पदक जितेकी थिइन् । 

१९औँ एसियन गेम्समा सहभागी पासाङ शेर्पा अन्तर्राष्ट्रिय आमन्त्रित उसु प्रतियोगिता चाइनामा शीर्ष पाँचमा रहेका थिए । राजीवले चीनमा भएको प्रतियोगितामा कांस्य जितेका थिए । यसैगरी अर्को महिना सान्सौं विधाको विश्वकप अस्ट्रेलियामा हुँदै छ । जसमा पुरुष ८० केजी तौल समूहमा सञ्जीव महर्जन र सोही विधाको महिला ५६ केजी तौल समूहमा विद्या गुरुङले प्रतिस्पर्धा गर्नेछन् । 

See More On

सुझावित समाचार