हमासले आफ्ना राजनीतिक तथा सैन्य शाखाका नेता याह्या सिनवारलाई इजरायलले मारेको पुष्टि गरेको छ । बिहीबार इजरायली सेनाले सिनवार राफाहस्थित ताआल अल–सुल्तान बस्तीमा एक दिनअघि मारिएको बताएको थियो । डिएनए परीक्षणबाट मारिएका व्यक्ति सिनवार नै रहेको यकिन भएको थियो । उनी गत वर्ष अक्टोबर ७ मा एक हजार १३९ जनाको ज्यान जाने गरी इजरायली भूमिमा भएको आक्रमणको मुख्य योजनाकार थिए । हमासको आक्रमणको जवाफमा इजरायलले एक वर्षभन्दा लामो समयदेखि गाजामा व्यापक बमबारी गरिरहेको छ । हालसम्म ४१ हजारभन्दा बढी गाजावासीले ज्यान गुमाइसके भने दसौँ लाख बेघर भएका छन् । सिनवारको हत्या इजरायलको प्यालेस्टिनी नेताकेन्द्रित हत्या शृंखलाको पछिल्लो एक दृष्टान्त मात्र हो । इजरायलले विगतमा रोमदेखि पेरिससम्म, बेरुतदेखि एथेन्ससम्म र गाजादेखि ट्युनिससम्म गएर प्यालेस्टिनी नेताको हत्या गरेको इतिहास छ । तथापि, बाह्य रूपमा भने इजरायलले बिरलै हत्याको जिम्मेवारी लिने गरेका छ, तर ऊ आफ्नो भूमिका अस्वीकार पनि गर्दैन । अक्टोबर ७ को हमास आक्रमणपछि इजरायलले सार्वजनिक रूपमा मार्ने शीर्ष हमास नेताहरूको सूची बनाएको बताएको थियो । सन् २०२३ डिसेम्बर ४ मा सार्वजनिक गरिएको रिपोर्टमा इजरायलको गुप्तचर निकाय सिन बेटका प्रमुख रोनेन बारले आफूहरूले ‘गाजा, पश्चिम किनारा, लेबनान, टर्की, कतार वा जुनसुकै क्षेत्रमा भए पनि हमास नेतालाई’ मारिछाड्ने चेतावनी दिएका थिए । विगत दशकमा हमासले हत्या गरेका उल्लेखनीय प्यालेस्टिनी नेताबारे यहाँ चर्चा गरिएको छ :
इस्माइल हानिय, जुलाई २०२४, तेहरान–इरान
गत जुलाईमा इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्किनको शपथग्रहण समारोहमा हमासका राजनीतिक शाखाका प्रमुख इस्माइल हानियलाई पनि आमन्त्रण गरिएको थियो । शपथ समारोहमा भाग लिन इरान गएका इस्माइल त्यहीँ मारिए । हमासका अनुसार इस्माइल नवनिर्वाचित पेजेस्किनको उद्घाटन समारोहमा सहभागी भएर आफ्नो निवासस्थानमा फर्किएपछि उनीमाथि ‘जियोनिस्ट बमबारी’ भएको थियो । इजरायलले त्यसको अघिल्लो दिन मात्र हेजबुल्लाहका कमान्डर फाद सुकरलाई बेरुतमा मारेको थियो ।
सालेह अल अरोरी, जनवरी २०२४, बेरुत
हमासको सैन्य विभाग ‘कसाम ब्रिगेड्स’का संस्थापकमध्ये एक ५७ वर्षीय अल अरोरी तत्कालीन राजनीतिक ब्युरो उपप्रमुख थिए । बेरुतको बाह्य भागमा बासिरहेका अरोरीलाई ड्रोन आक्रमण गरी मारिएको थियो । उनी इ जरायली जेलमा १५ वर्ष बन्दी रहेर लेबनानमा निर्वासित जीवन बिताइरहेका थिए । उसो त अक्टोबर ७ को युद्धअघि नै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उनलाई मार्ने धम्की दिएका थिए । उनी मारिएपछि इजरायलले हत्याको जिम्मेवारी लिएन । तथापि, संयुक्त राष्ट्र संघका लागि इजरायलका पूर्वदूत ड्यानी डाननले आक्रमणको प्रशंसा गर्दै इजरायली सेना, सिन बेट र मोसादलाई अल अरोरीको हत्याका लागि बधाई दिएका थिए ।
महमुद अल मबुह, जनवरी २०१०, दुबई, युएई
अल मबुह कसाम ब्रिगेडका सैन्य कमान्डर थिए । उनी सो समूहले प्रयोग गर्ने सामग्री तथा हतियार खरिदको जिम्मेवारी सम्हाल्थे । कुनै समय उनले गठन गरेको ‘युनिट १०१’ इजरायली लडाकु अपहरणमा केन्द्रित थियो । अल मबुह दुबईको अल बुस्तान रोताना होटेलमा मारिए, जुन हत्या इजरायलको गुप्तचर संस्था मोसादले गरेको विश्वास गरिन्छ । प्रहरी जाँचले अल मबुहलाई लागुऔषध दिएर करेन्ट लगाई सिरानीले थिचेर मारेको पाएको थियो ।
महमुद अल मज्जोब, मे २००६, सिदोन, लेबनान
अल मज्जोब ‘प्यालेस्टिनियन इस्लामिक जिहाद (पिआइजे)’ समूहका शीर्ष नेता थिए, जसको हेजबुल्लाहसँग घनिष्ट सम्बन्ध थियो । उनलाई लेबनानी सहर सिदोनमा कारबम प्रयोग गरी मारियो । इजरायलले आक्रमणको जिम्मेवारी लिन अस्वीकार गरे पनि पिआइजे र हेजबुल्लाह दुवैले हत्याका लागि उसलाई दोषी ठहर्याएका थिए ।
अद्नान अल घुल, अक्टोबर २००४, गाजा सहर, गाजापट्टी
अल घुल पनि कसाम ब्रिगेडका शीर्ष वरीयताका सदस्य थिए, जसलाई हमासको रकेट प्रणालीको निर्माणको जस दिइन्छ । इजरायली सेनाले शीर्ष बम निर्माताको रूपमा पहिचान गरेका अल घुल पनि व्यक्तिलक्षित आक्रमणमार्फत मारिएका थिए । इजरायली सेनाको ‘एएच–६४’ हेलिकोप्टरले उनी चढेको कारमा मिसाइल हानेर उनलाई मारेको थियो ।
अब्देल अजिज अल रानतिसी, अप्रिल २००४, गाजा सहर, गाजापट्टी
अल रानतिसी पहिलो ‘इन्तिफादा’को जगमा हमास आन्दोलन निर्माण गर्ने सेख अहमद यासिनसहितका सात सह–संस्थापकमध्ये एक थिए । मार्च २००४ मा यासिनको हत्यापछि उनी हमासका नयाँ नेता चुनिए । तर, समूहको नेतृत्व सम्हालेको एक महिनामै उनी इजरायली सेनाको मिसाइल प्रहारबाट मारिए । इजरायली वायुसेनाको हेलिकोप्टर ‘एएच–६४’को ‘हेलफायर’ मिसाइलले उनी चढेको कारलाई निसाना बनाउँदा उनी मारिएका थिए ।
सेख अहमद यासिन, मार्च २००४, गाजा सहर, गाजापट्टी
सेख यासिनलाई हमासको आध्यात्मिक नेता मानिन्थ्यो । १६ वर्षको उमेरमा भएको एक दुर्घटनापछि यासिनका हातखुट्टा चल्दैनथे भने उनी राम्ररी देख्न पनि सक्दैनथे । त्यसैले उनी सहयोगीको साथले ह्लिचेयरमा आवतजात गर्ने गर्थे । उनलाई गाजा सहरको बाह्य भागमा अवस्थित मस्जिदमा बिहानी प्रार्थनापछि बाहिरिने क्रममा इजरायली मिसाइल प्रहार गरी मारिएको थियो । इजरायली सुरक्षा स्रोतले बताएअनुसार तत्कालीन प्रधानमन्त्री एरियल सारोनले व्यक्तिगत रूपमा यी पक्षघात भएका धार्मिक नेताको हत्याको निर्देशन दिएका थिए । साथै सारोनले यासिनको हत्या प्रत्यक्ष भिडियोमार्फत अवलोकन गरेका थिए ।
सलाह सेहदेह, जुलाई २००२, गाजा सहर, गाजापट्टी
सेहदेह हमासको कसाम ब्रिगेडको संस्थापकमध्ये एक थिए, जो झन्डै एक दशक इजरायली जेलमा बन्दी थिए । इजरायली हवाई फौजले गाजा सहरस्थित घरमा बम प्रहार गरी उनलाई मार्यो । पछि इजरायली सेनाले जारी गरेको वक्तव्यले आक्रमणको लक्ष्य सेहदेह नै भएको पुष्टि गर्यो । वक्तव्यमा सेहदेहलाई ‘पछिल्लो दुई वर्षको अवधिमा इजरायली सेना र नागरिकविरुद्ध भएका सयौँ आक्रमण’का लागि जिम्मेवार ठहर्याएको थियो ।
याह्या अयास, जनवरी १९९६, बेइत लाहिया, गाजापट्टी
‘द इन्जिनियर’ उपनामले चिनिने गरेका अयास हमासभित्र बम निर्माण अभियानका लागि परिचित थिए । उनी कसाम ब्रिगेड्सको पश्चिम किनार बटालियनका कमान्डर थिए । अयासले नै इजरायलविरुद्ध प्रतिरोधको एक स्वरूपका रूपमा आत्मघाती बम विस्फोट सुरुवात गरेको मानिन्छ । सिन बेटका एजेन्टले अयासको फोनमा विस्फोटक पदार्थ राखेर उनलाई मारेका थिए । उनको पिताले गरेको फोन उठाउँदा विशाल विस्फोट भएर उनको ज्यान गएको थियो ।
इमाद अकेल, नोभेम्बर १९९३, सुजायिय, गाजापट्टी
अकेल कसाम ब्रिगेड्सका कमान्डर थिए, जसको संरक्षकत्वमा पछि गएर लामो समय ब्रिगेड्सका नेतृत्व सम्हालेका मोहम्मद डेइफले प्रशिक्षण पाएका थिए । लुकेर इजरायली फौजमाथि अचानक आक्रमण गर्ने उनको रणनीतिका कारण उनले ‘भूत’को उपनाम पाएका थिए । नोभेम्बर १९९३ मा सुजायियस्थित अकेलको घरलाई इजरायली सेनाले घेरा हाल्यो । घन्टौँसम्मको घेराउपछि घरबाट बाहिरिने प्रयास गर्दा उनी इजरायली विशेष फौजको गोलीबाट मारिए ।
अबु जिहाद, अप्रिल १९८८, ट्युनिस, ट्युनिसिया
अबु जिहादका नामले चिनिने खलिल अल वाजिर ‘प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पिएलओ)’का प्रमुख नेतामध्ये एक थिए । उनले सन् १९५० को दशकको अन्त्यतिर फताह नामक समूह निर्माण गर्न सघाएका थिए । वर्षौंसम्म उनी पिएलओ अध्यक्ष यासेर अराफातका प्रभावशाली उपप्रमुख रहे । तर, सन् १९८८मा उनलाई एक इजरायली एजेन्टले गोली हानी हत्या गरे । इजरायलले लामो समय हत्याको जिम्मेवारी अस्वीकार गरिरह्यो । तर, २५ वर्षपछि सन् २०१२ मा एक इजरायली पत्रिकालाई दिइएको अन्तर्वार्तामा इजरायली सैनिक नहुम लेभले आफूले अबु जिहादलाई मारेको स्वीकारे ।
खलिद नज्जाल, जुन १९८६, एथेन्स, ग्रिस
नज्जाल डेमोक्रेटिक फ्रन्ट फर द लिबरेसन अफ प्यालेस्टाइन(डिएफएलपी)का सचिव र पिएलओका नेता थिए । इजरायलले उनलाई सन् १९७४ मा अलोट आक्रमणका लागि दोषी ठहर गरेको थियो, जुन घटनामा २२ स्कुले बालबालिका र चार वयस्क मारिएका थिए । मोसाद एजेन्टले एथेन्स सहरमा उनको हत्या गरे ।
अलि हसन सलामे, जनवरी १९७९, बेरुत, लेबनान
सलामेले स्थापना गरेको ‘ब्ल्याक सेप्टेम्बर’ नामक सैन्य समूहले सन् १९७२ मा म्युनिखमा सम्पन्न ओलम्पिकमा सहभागी इजरायली खेलाडीमाथि आक्रमण गरेको थियो । त्यस आक्रमणमा ११ इजरायली खेलाडी र एकजना जर्मन प्रहरी मारिएका थिए भने आक्रमणमा संलग्न पाँचैजना मारिएका थिए । सलामेको हत्याअघि मोसादका एजेन्टले लामो समय उनको निगरानी गरेका थिए । यसका लागि तिनले बेरुतस्थित उनको घरछेउमा एक अपार्टमेन्ट भाडामा लिएका थिए । हत्याको केहीअघि उनी जाने जिममा समेत एजेन्टहरू भर्ना भएका थिए । हत्याको समयमा सलामे सवार कार बमले लादिएको कारनजिक पुगेपछि विस्फोट गराएर उनलाई मारिएको थियो ।
मोहमेद बोदिया, जुन १९७३, पेरिस, फ्रान्स
अल्जेरियाली कवि तथा नाटक लेखक बोदिया ‘पपुलर फ्रन्ट फर द लिबरेसन अफ प्यालेस्टाइन’का शीर्ष सदस्य थिए । उनले अल्जेरियाको स्वतन्त्रता संग्राममा समेत भाग लिएका थिए । १९७२ को म्युनिख ओलम्पिकमा भएको आक्रमणपछि उनलाई मोसाद एजेन्टहरूले पछ्याउन थालेका थिए । तिनैले उनको कारको सिटमुनि राखिदिएको बमले उनको ज्यान लियो ।
अब्देल बायल ज्वाइटर, अक्टोबर १९७२, रोम, इटली
प्यालेस्टिनी अनुवादक ज्वाइटर रोममा पिएलओका प्रतिनिधि थिए । इजरायलले उनलाई म्युनिख ओलम्पिकमा इजरायली खेलाडीमाथि आक्रमण गर्ने सैन्य समूहको कमान्डर भएको आरोप लगाएको थियो । उनी एक बुद्धिजीवी मात्र रहेको र म्युनिख आक्रमण गर्ने समूहसँग स्पष्ट सम्बन्ध नरहेको उनका समर्थकको तर्क थियो । तर, यी तर्कका बाबजुद उनी इजरायली निसानाबाट बच्न सकेनन् । उनलाई आफ्नै निवासमा इजरायली एजेन्टले गोली हानी हत्या गरे ।
घस्सान कनाफानी, सन् १९७२ जुलाई, बेरुत, लेबनान
नाम चलेका प्यालेस्टिनी लेखक तथा कवि कनाफानी ‘पपुलिर फ्रन्ट फर द लिबरेसन अफ प्यालेस्टाइन (पिएफएलपी)’का प्रवक्ता थिए । उनलाई उनकी १७ वर्षीया भतिजीसँगै बेरुतमा हत्या गरियो । इजरायली जासुसले उनको कारको ‘इग्निसन स्विच’मा एक ग्रिनेड जोडेर छाडेका थिए । कार स्टार्ट गर्दा उनी र कारमा सवार भतिजी मारिए । इजरायलले उक्त हत्या सन् १९७२ को लोड विमानस्थलमा भएको अन्धाधुन्ध गोली प्रहारको जवाफ भएको बताएको थियो । विमानस्थलमा भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए । तथापि, केही विश्लेषक भने आक्रमणको योजना सो घटना हुनुअघि नै बनेको बताउँछन् ।
–अल जजिराबाट