जापानमा हुने २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेको राखेपले आगामी १ मंसिरदेखि असारसम्म खेलाडीलाई विशेष प्रशिक्षणमा राख्ने
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण १ मंसिरदेखि पुनः सुरु गर्ने भएको छ । विशेष प्रशिक्षण ०८१ को असारसम्म चल्नेछ । सन् २०२६ मा जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड)मा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित राखेपले गत आर्थिक वर्षदेखि खेलाडीलाई विशेष प्रशिक्षणमा राखेको थियो । राखेपले पदक जित्ने सम्भावित विभिन्न खेलका खेलाडीलाई समावेश गरी विशेष तयारी प्रशिक्षण सुरु गरेको हो ।
पछिल्लोपटक पाँच खेलका खेलाडीले ६ महिना तथा त्यसपछि थप पाँच खेलले तीन महिना विशेष प्रशिक्षण गरेको थियो । यसअघिको प्रशिक्षणबाट प्रभावकारी नतिजा आएपछि राखेपले दोस्रोपटक खेलाडीहरूलाई विशेष प्रशिक्षणमा राख्न लागेको राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले मंगलबार जानकारी दिएका छन् । गत वर्ष चिनको हाङझाउमा भएको १९औँ एसियाडमा कराँतेकी एरिका गुरुङले ऐतिहासिक रूपमा रजत पदक जितेको थियो ।
एरिकाको सफलतापछि राखेपले आगामी एसियाडमा स्वर्णसहित दोहोरो अंकका साथ पदक जित्ने लक्ष्य राख्ने विशेष प्रशिक्षणको योजना ल्याएको हो । राखेपका सदस्यसचिव टंकलाल घिसिङले हाङझाउको एसियाडलगत्तै खेलाडीलाई चार वर्षअघि नै तयारीमा राखेका हुन् । एसियाली खेलकुद सम्पन्न भएलगत्तै चार वर्षको तयारी थालिएको यो नै पहिलोपटक हो । एसियाली खेलकुदमा नेपालले हालसम्म दोहोरो अंकमा पदक जितेको छैन । नेपालले एसियाली खेलकुदमा तीन रजत हात पारेको छ । सन् १९९८ मा पहिलोपटक तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई रजत दिलाएकी थिइन् ।
सन् २०१८ मा इन्डोनेसियाको जार्कातामा नेपाली प्यारा ग्लाइडिङ टोलीले रजत हात पारेको थियो । एसियाली खेलकुदमा नेपाल हालसम्म स्वर्णविहीन पनि छ । एसियाडको सहभागितामा नेपालको उत्कृष्ट प्रदर्शन सन् १९८६ को दक्षिण कोरियाको सोलमा भएको संस्करण थियो । त्यसवेला बक्सिङ र तेक्वान्दोमा समान चार खेलाडीले कांस्य जितेका थिए । नेपालले पहिलोपटक एसियाडमा आठ पदक जितेको सोलमै थियो । नेपालका लागि तेक्वान्दोका विधान लामा, राजकुमार राई, राजकुमार वुच र रामबहादुर क्षेत्रीले कांस्य दिलाए । यसैगरी, कराँतेमा दलबहादुर रानामगर, तुलबहादुर थापा, मनोजबहादुर श्रेष्ठ र सुशील पोखरेलले कांस्य जितेका थिए ।
९९ खेलाडी विशेष प्रशिक्षणमा रहने
सन् १९८६ पछि एसियाडमा उत्कृष्ट नतिजा निकाल्ने योजनासहित दोस्रोपटकको विशेष प्रशिक्षणमा पारा तेक्वान्दोसहित १२ खेल समावेश गरेको टिम तयारीका निर्देशक विष्टले बताएका छन् । ‘यसपटकको प्रशिक्षणमा पारासहित ४५ पुरुष र ५४ महिला गरी ९९ खेलाडी विशेष प्रशिक्षणमा सहभागी हुनेछन्,’ उनले भने, ‘ती खेलाडीहरूलाई २२ प्रशिक्षकले प्रशिक्षण गर्नेछन् ।’ विशेष प्रशिक्षणमा छनोट भएका खेलाडी सम्बन्धित राष्ट्रिय खेल संघले तोकेको कोटाअनुसार समावेश गरेको उनले बताए । ‘छनोट गरिएको राष्ट्रिय टिमका उत्कृष्ट खेलाडीलाई विशेष प्रशिक्षणमा समावेश गरिएको छ,’ विष्टले भने । प्रशिक्षणको क्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई वैदेशिक प्रशिक्षणको अवसर पनि दिइनेछ ।
खेलाडी र प्रशिक्षकलाई दैनिक पाँच सय भत्ता
राखेपले व्यवस्थापन गरेको विशेष प्रशिक्षणमा सहभागी खेलाडी तथा प्रशिक्षकले दैनिक पाँच सय खुराक पाउनेछन् । उनीहरूले हरेक दिन यही रकममा आफ्नो सबै व्यवस्थापन गर्नुपर्नेछ । ‘अहिले प्रशिक्षणमा रहने खेलाडी र प्रशिक्षकलाई दैनिक पाँच सय खाना खर्च प्रदान गरिनेछ,’ विष्टले भने । राखेपले प्रत्येक सहभागीलाई १० हजार मूल्यबराबरको किट्स सेट उपलब्ध गराइनेछ । असार मसान्तसम्म सञ्चालन गरिने विशेष प्रशिक्षणमा सहभागी सबैको प्रशिक्षण अवधिभर बिमा पनि गरिनेछ ।
गल्फ, पारा र कबड्डी पहिलोपटक प्रशिक्षणमा
राखेपले पहिलोपटक गल्फ, पारा तेक्वान्दो र पुरुष कबड्डी खेलका खेलाडीलाई विशेष प्रशिक्षणमा राख्ने तयारी गरेको छ । गल्फमा दुई पुरुष र एक महिला खेलाडी छनोट हुनेछन् । पारा तेक्वान्दोमा समान दुई पुरुष र महिला खेलाडी समावेश हुनेछन् । गल्फ र पारा तेक्वान्दोमा समान एक प्रशिक्षक हुनेछन् । बाँकी खेलमा दुई प्रशिक्षकलाई समेटिनेछ । गल्फ, पारा तेक्वान्दो र पुरुष कबड्डी खेल थप गरिएको टिम तयारीका निर्देशक विष्टले बताए । बक्सिङ, उसु, र एथलेटिक्समा समान चार पुरुष र महिला खेलाडी रहनेछन् । जुडो र कुस्तीमा समान तीन पुरुष र महिला खेलाडी प्रशिक्षणमा सहभागी हुनेछन् । टिम इभेन्टमा कबड्डीमा समान १२ पुरुष र महिला खेलाडी प्रशिक्षणमा रहनेछन् । भलिबलमा १२ खेलाडी हुनेछन् ।
कराँते र तेक्वान्दोका सर्वाधिक १०–१० खेलाडी
लगभग ६ महिनासम्म चल्ने विशेष प्रशिक्षणमा कराँते र तेक्वान्दोबाट सर्वाधिक १०–१० खेलाडी समावेश हुनेछन् । पछिल्लो समय अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा कराँतेले ऐतिहासिक नतिजा निकालेका कारण यस खेलका धेरै खेलाडी समावेश भएका हुन् । कराँतेकी एरिकाले एक वर्षको अन्तरमा चीनको हाङझाउमा एसियाड र एसियन कराँते च्याम्पियनसिपमा रजत दिलाएकी थिइन् । नेपालको कराँते इतिहासमा एसियनस्तरमा रजत जित्ने उनी पहिलो खेलाडी हुन् । विशेष प्रशिक्षणमा कराँतेबाट समान पाँच पुरुष र महिला खेलाडीले प्रशिक्षण लिने विष्टले जनाए ।
अन्तर्राष्ट्रिय एरिनामा तेक्वान्दोका खेलाडीले खासै सफलता प्राप्त गर्न नसक्दा पनि यो खेललाई राखेपको पदक जित्ने विधामा समावेश गरिएको छ । सन् २००६ पछि तेक्वान्दोले एसियाडमा पदक जित्न सकेको छैन । सन् २००६ मा कतारको दोहामा भएको एसियाडमा नेपाललाई दीपक विष्ट, मनिता शाही र आयशा शाक्यले कांस्य दिलाएका थिए । त्यसपछि तेक्वान्दो खेलाडी एसियाडमा पदकविहीन छन् । एसियाडमा लगातार दुई संस्करणमा कांस्य जित्ने विष्ट मात्रै हुन् । विशेष प्रशिक्षणमा तेक्वान्दोमा ६ पुरुष र ४ महिला समावेश हुनेछन् ।
एसियाडमा नतिजा आउने आशा गरेका छौँ : दीपक विष्ट, निर्देशक, राष्ट्रिय टिम तयारी
प्रशिक्षणमा पारासहित ४५ पुरुष र ५४ महिलाका खेलाडी विशेष प्रशिक्षणमा सहभागी हुनेछन्, उनीहरूलाई २२ प्रशिक्षकले प्रशिक्षण गर्नेछन् । हामीले छनोट भएका खेलाडी सम्बन्धित राष्ट्रिय खेल संघले तोकेको कोटाअनुसार समावेश गरेका हौँ । प्रशिक्षणको क्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई वैदेशिक प्रशिक्षणको अवसर पनि दिइनेछ । चार वर्षको प्रशिक्षणबाट हामीले जापानमा हुने एसियाडमा नतिजा आउने आशा गरेका छौँ ।