नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका फास्टबलर एन्डरसन फिलिपलाई अनुबन्ध गरेको छ । पोखराले एनपिएलका लागि तेस्रो विदेशी खेलाडीका रूपमा एन्डरसनलाई भित्र्याएको हो । यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डी लिडेलाई अनुबन्ध गरिसकेको छ ।
नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरामा अनुबन्ध भएका २८ वर्षीय एन्डरसनले वेस्ट इन्डिजबाट एकदिवसीय र टेस्ट खेलमा अवसर पाएका छन् । सन् २०२२ मा उनले बंगलादेशविरुद्ध टेस्टमा डेब्यु गरेका थिए । उनले एकदिवसीय खेलमा सन् २०२१ मा श्रीलंकाविरुद्ध डेब्यु गरे । सन् २०२२ को जुलाईपछि उनले वेस्ट इन्डिज टोलीमा मौका पाएका छैनन् । प्रतिघण्टा एक सय ४० किमि स्पिडमा बल फ्याँक्न सक्ने एन्डरसनले दुई टेस्टमा तीन र पाँच एकदिवसीयमा चार विकेट लिएका छन् ।
उनले पहिलो श्रेणीमा एक सय २९ विकेट हात पारेका छन् । ब्याटिङ क्रममा उनले टेस्टमा ५३ रन तथा एकदिवसीयमा २२ रन जोडेका छन् । एन्डरसनलाई अनुबन्ध गरेपछि पोखराका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो भएको बताए । टिमका म्यानेजिङ डाइरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो र प्रतिस्पर्धात्मक बनाउने योजना रहेको बताए ।
लुम्बिनीले ट्यालेन्ट हन्ट गर्ने
नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज लुम्बिनी लायन्सले युवा तथा प्रतिभाशाली क्रिकेटर छनोटका लागि ‘ट्यालेन्ट हन्ट’ गर्ने भएको छ ।
‘ट्यालेन्ट हन्ट’बाट चार खेलाडीलाई छनोट गरिने लुम्बिनीले जनाएको छ । चारमध्ये एकजनाले ‘सुपरस्टार’को उपाधि प्राप्त गर्नेछन् । सो खेलाडीलाई लुम्बिनीको टोलीमा समावेश गरिनेछ ।