भारतको सहयोगमा रेलवे ट्रयाक मर्मत हुने

बुधबार, ७ कार्तिक, २०८१
डिजिटल संस्करण

भारतीय बजार जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजलापुरासम्म सञ्चालन हुँदै आएको नेपाली रेलवेको ट्रयाक मर्मत–सम्भार हुने भएको छ । 

२० चैत ०७८ देखि नियमित दैनिक तीनपटक रेल सञ्चालन हुँदै आए पनि ट्रयाक मर्मत हुन सकेको छैन । ट्रयाकको मर्मत–सम्भार नहुँदा रेलको गतिमा कमी आउने, रेल चल्दा बढी हल्लिनेजस्ता समस्या हुने गरेका छन् । भारतको सहयोगमा निर्माण भएको उक्त रेलवे ट्रयाक भारतीय सरकारकै सहयोगमा मर्मत–सम्भार हुन लागेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक नीरन्जन झाले जानकारी दिए । जयनगरदेखि बिजलपुरासम्मको ५२ किलोमिटर रेलवे ट्रयाक मर्मत–सम्भारका लागि भारत सरकारले १२ करोड भारतीय रकम अनुदान दिएको छ । 

ट्रयाक मर्मत–सम्भार गर्न भारतीय इकोण रेलवे (इएमसी)का अधिकारीले २४ अक्टोबरमा नेपाल काठमाडाैँ आउने र २५ अक्टोबरमा रेलवे खण्डको अनुगमन तथा निरीक्षण हुने उनले बताए । रेलवे ट्रयाक मर्मत भएपछि अयोध्या–जनकपुरधाम भारतीय रेल सञ्चालनको सम्भावना बढ्ने उनले बताए । 

सन् २०१० मै नेपाल र भारतबिच भारतीय बजार जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बर्दीबाससम्म ६९ किलोमिटर रेल सञ्चालन गर्ने सम्झौता भएको थियो । सोही सम्झौताअनुसार पहिलो चरणमा जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलवे ट्रयाक निर्माण भई २० चैत ०७८ देखि नियमित सञ्चालन हुँदै आएको छ । 

सोही सम्झौताअनुसार दोस्रो चरण कुर्थादेखि सीताभपुर भंगहा बिजलपुरासम्म १७ किलो मिटर रेलवे ट्रयाक निर्माण भई ०८० असारदेखि सञ्चालन हुँदै आएको छ । यसरी दुई चरणमा नेपाल रेल सेवा ५२ किलोमिटर विस्तार भए पनि तेस्रो चरणको रेल सञ्चालन हुने ट्रयाक निर्माण कार्य अझै भएको छैन । सम्झौतामा नेपालले रेलवे ट्रयाक निर्माणका लागि जग्गा उपलब्ध गराउने र भारतले सो जग्गामा ट्रयाक निर्माण गरी नेपाललाई हस्तान्तरण गर्ने तथा नेपाल पक्षले रेल सञ्चालन गर्ने उल्लेख छ । 

भंगहा बिजलपुरादेखि बर्दीबाससम्म १७ किलोमिटर रेलवे ट्रयाक निर्माणका लागि जग्गा उपलब्ध गराउने जिम्मा नेपाल सरकारको हो । तर, अहिलेसम्म सरकारले तेस्रो चरणको रेल सञ्जाल विस्तारका लागि जग्गा अधिग्रहण गर्न सकेको छैन । मुआब्जा विवादका कारण जग्गा अधिग्रहण कार्यमा ढिलाइ भएको बताइएको छ । 

See More On

सुझावित समाचार