गुल्मीमा विवरण संकलन भएको करिब चार वर्षपछि गाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु हुने भएको छ । ०७७ सालमा दर्ता अभियानमार्फत गाउँ–गाउँमा पुगेर परिचयपत्रको विवरण दर्ता गरिएको थियो । सोही अभियानमा विवरण संकलन गरेर छापिएका राष्ट्रिय परिचयपत्र आगामी ८ कात्तिकबाट टोलीमार्फत नै सबै पालिकाको वडामा पुगेर वितरण गरिने भएको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाले तिहारअघि र पछि गरेर दुई चरणमा परिचयपत्र वितरणको योजना बनाएको छ । पहिलो चरण अर्थात् ८ कात्तिकबाट धुर्कोट, कालीगण्डकी, गुल्मीदरबार र इस्मा गाउँपालिकाका वडाहरूमा पुगेर कार्ड वितरण गरिनेछ। सोहीअनुसार पालिकाहरूले वडाहरूमा वितरणको कार्यतालिका बनाइसकेका छन् । राष्ट्रिय परिचयपत्र वितरण गर्न बाँकी स्थानीय तहमा तिहारपछि वितरण कार्य सुरु गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।
परिचयपत्र वितरणका सन्दर्भमा विभागले आइतबार जिल्लाका स्थानीय तह तथा सरोकारवालासँग छलफल गरिसकेको छ । जिल्लाबाट राष्ट्रिय परिचयपत्रका लागि हालसम्म एक लाख ९४ हजार ४३२ जनाको विवरण संकलन भएको छ । तीमध्ये एक लाख ६४ हजार ४२३ जनाको कार्ड छपाइ भएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक तुलसीप्रसाद दाहालले बताए ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ६६ हजार ३१५ जनाको विवरण संकलन गरिएको छ । तीमध्ये ४० हजार ६९४ जनाको कार्ड छ । अहिलेसम्म प्रशासन कार्यालयबाट छापिएका पाँच हजार ४६१ जनालाई कार्ड वितरण गरिएको दाहालले जानकारी दिए ।
कुन पालिकाबाट कति विवरण संकलन
जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ८ साउन ०७६ सालबाट राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरु गरिएको थियो । फागुन ०७७ बाट जिल्लाका गाउँ–गाउँमा पुगेर राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियान गरिएको थियो । अभियानबाट एक लाख २९ हजार ३५९ जनाले विवरण संकलन गराएका थिए । अभियानमा जिल्लाको रेसुंगा नगरपालिकाबाट १३ हजार २७ जनाको विवरण संकलन गरिएकोमध्ये १२ हजार ५४२ जनाको कार्ड छापिएर आएको छ । मुसिकोट नगरपालिकाबाट १४ हजार ६४१ जनाको विवरण संकलन गरिएकोमा १३ हजार ९०५ जनाको कार्ड छापिएको छ ।
कालीगण्डकी गाउँपालिकाबाट नौ हजार २३ जनाको विवरण संकलन गरिएको थियो । जसमध्ये आठ हजार ७८२ जनाको कार्ड छापिएको छ । सत्यवती गाउँपालिकामा १० हजार ६४४ जनाको विवरण संकलन गरिएकोमा १० हजार ४२२ जनाको कार्ड छापिएको छ ।
चन्द्रकोट गाउँपालिकाबाट नौ हजार २१२ जनाको विवरण संकलन गरिएकोमध्ये आठ हजार ९१४ जनाको कार्ड छापिएको विभागले जनाएको छ । छत्रकोट गाउँपालिकाबाट १० हजार ३९३ जनाको विवरण संकलन गरिएकोमध्ये १० हजार ५५ जनाको कार्ड छापिएको छ ।
गुल्मीदरबार गाउँपालिकाबाट ११ हजार ५२१ जनाको विवरण संकलन गरिएको थियो । जसमध्ये ११ हजार २५८ जनाको कार्ड छापिएको छ । इस्मा गाउँपालिकाबाट नौ हजार ३४६ जनाको विवरण संकलन गरिएकोमा नौ हजार ५० जनाको कार्ड छापिएको छ।
धुर्कोट गाउँपालिकाबाट १० हजार ७७३ जनाको विवरण संकलन गरिएको थियो । अहिले १० हजार ३८१ जनाको कार्ड छापिएको छ । मदाने गाउँपालिकाबाट नौ हजार ७४६ जनाको विवरण संकलन गरिएकोमध्ये नौ हजार ३४३ जनाको कार्ड छापिएको छ । मालिका गाउँपालिकाबाट १० हजार २१५ जनाको विवरण संकलन गरिएकोमा नौ हजार ८५७ जनाको कार्ड छापिएको छ ।
परिचयपत्र पाउन आफैँ उपस्थित हुनुपर्ने
राष्ट्रिय परिचयपत्र प्राप्त गर्न व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार राष्ट्रिय परिचयपत्र लिँदा पुन: जैविक विवरण चेकजाँच गर्नुपर्ने भएकाले सम्बन्धित व्यक्तिले नागरिकता, राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्दाको सक्कली रसिद अनिवार्य लिएर आउनुपर्नेछ। जिल्ला प्रशासन कार्यालयबाट विवरण संकलन गरिएको राष्ट्रिय परिचयपत्रको कार्ड हकमा भने जिल्ला प्रशासन कार्यालयबाटै वितरण गरिनेछ ।