एनपिएलमा दुई टोलीले भित्र्याए विदेशी खेलाडी

मंगलबार, ६ कार्तिक, २०८१
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)ले १६ मंसिरदेखि आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल)मा विदेशी खेलाडी अनुबन्ध हुने क्रमले तीव्रता पाएको छ । कर्णाली याक्सले आइतबार पाकिस्तानी मोहम्मदलाई अनुबन्ध गरेको थियो । सुदूरपश्चिम रोयल्सले सोमबार स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकलेनलाई भित्र्याएको छ । विदेशी खेलाडीको कोटामा सुदूरपश्चिमले स्कटल्यान्डका राम्रा अलराउन्डर भित्र्याउन सफल भएको छ । 

‘हामीले विदेशी खेलाडीको कोटामा स्कटल्यान्डका अलराउन्डर ब्रान्डनलाई ल्याएका छौँ,’ टोलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सुदूरपश्चिमका मार्की खेलाडीका रूपमा आइसिसी टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा रहेका दीपेन्द्रसिंह ऐरी र प्रशिक्षकमा जगत टमाटा रहेका छन् । 

यसैगरी, ओलम्पियन दीपक विष्ट ब्रान्ड एम्बेसडर तथा केपी खनाल सोसियल एक्टिभिस्ट एम्बेसडर रहेका छन् । पहिलो विदेशी खेलाडी अनुबन्धसँगै सुदूरपश्चिमको एनपिएलमा प्रदर्शन उत्कृष्ट हुने जनाएको छ । ‘ब्रान्डनको आगमनले टोलीको प्रदर्शन उत्कृष्ट रहनेमा हामी आशावादी छौँ,’ विज्ञप्तिमा भनिएको छ । 

टी–२० आईमा ६ अर्धशतक
बायाँहाते ब्याट्सम्यान ब्रान्डनले १६ टी–२० आईमा ६ अर्धशतक प्रहार गरेका छन् । उनले ४९७ रन बनाउने क्रममा ३९ चौका र २६ छक्का प्रहार गरेका छन् । उनले २२ एकदिवसीय खेलमा समान दुई शतक र अर्धशतकमा ७२१ रन जोडेका छन् । यसैगरी, बलिङ क्रममा सात इनिङ्समा उनले दुई विकेट हात पारेका छन् । ५० ओभर र टी–२० फम्र्याटमा उनी अहिलेसम्म डकआउट भएका छैनन् । सन् २०२३ मा जर्मनीविरुद्ध टी–२० आईमा डेब्यु गरेका ब्रान्डनले २२ एकदिवसीय खेल खेलेका छन् । यसैबिच सुदूरपश्चिम अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरिसकेको छ ।

पोखरामा नेदरल्यान्ड्सका बलिङ अलराउन्डर बास डी 
कास्की/ एनपिएलको खर्चिलो टोलीमध्ये एक पोखरा एभेन्जर्सले नेदरल्यान्ड्सका बास डी लिडेलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ । २४ वर्षीय लिडे पोखराका दोस्रो विदेशी खेलाडी हुन् । यसअघि पोखराले पहिलो विदेशी खेलाडीका रूपमा अमेरिकाका आन्द्रेस गौसलाई टोलीमा भित्र्याएको थियो । लिडेले नेदरल्यान्ड्सबाट ३८ टी–२० आईमा ६९७ रन बनाएका छन् । उनी बलिङ अलराउन्डर हुन् । उनले टी–२०आईमा चार अर्धशतक प्रहार गरेका छन् । 

नेदरल्यान्ड्सको एकदिवसीय टोलीबाट ४३ खेलमा एक शतक र तीन अर्धशतक मद्दतमा उनले ९७६ रन बटुलेका छन् । यसैगरी, बलिङमा उनले ३८ टी–२० आईमा ३३ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन १९–३ को । सन् २०१८ मा उनले आयरल्यान्डविरुद्ध टी–२० आई र सन् २०१८ मा नेपालविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए । 

पोखराले मुख्य प्रशिक्षकमा भारतका राजीव कुमारलाई नियुक्त गरेको छ । यस टोलीका मार्की खेलाडी नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन् । पोखराले अक्सनबाट सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायणजोशी, विपिन खत्री, दिलीप नाथ, तृतराज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई अनुबन्ध गरेको छ । 

See More On

सुझावित समाचार