एक खेलअघि नै नेपाललाई टी–२० सिरिज

सोमबार, ५ कार्तिक, २०८१
डिजिटल संस्करण

नेपालले एक खेलअगाडि नै अमेरिकाविरुद्धको टी–२० आई सिरिज जितेको छ । डालासमा आइतबार बिहान भएको दोस्रो टी–२० आईमा नेपालले अमेरिकालाई सुपर ओभरमा हराउँदै सिरिज हात पारेको हो । यसअघि पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । नेपालले दुई राष्ट्र सम्मिलित टी–२० आई सिरिज चौथोपटक जितेको हो । यसअघि नेपालले मलेसिया, युएई र केन्यालाई अन्तर्राष्ट्रिय टी–२० सिरिजमा हराएको थियो । डालासको ग्रान्ड प्रेरीमा नेपालले पहिलो ब्याटिङ गरी अमेरिकालाई १७१ रनको लक्ष्य दिएको थियो । 

अमेरिकाले २० ओभरमा आठ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अमेरिकालाई अन्तिम ओभरमा ७ रन आवश्यक थियो । सोमपाल कामीले ६ रन मात्र खर्चेपछि खेल टाई भयो । 

रोमाञ्चक सुपर ओभर
अमेरिकाले सुपर ओभरमा पहिले ब्याटिङ गर्यो । अमेरिकाका आन्द्रेस गौस र सायन जाहागिंर ओपनिङमा आए । नेपालका लागि बलिङमा सोमपालले बल फ्याँके । सुपर ओभरको पहिलो र दोस्रो बलमा अमेरिकाले समान १ रन लियो । त्यसपछि अमेरिकाले लगातार दुई विकेट गुमायो । सोमपालले तेस्रो बलमा जाहागिंरलाई बोल्ड र चौथो बलमा आरोन जोन्स क्याच आउट गराए । सुपर ओभरमा ३ रनको सामान्य लक्ष्य पछ्याएको नेपालका कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेलले आवश्यक रन पूरा गरे ।

भुर्तेलको आक्रामक ब्याटिङ
यसअघि टस जितेर नेपालले पहिलो ब्याटिङ गरेको थियो । नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७० रनको योगफल तयार गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा सर्वाधिक ९२ रनको नटआउट इनिङ्स खेले । उनले ५४ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका थिए । उनको यो नवौँ टी–२० आई अर्धशतक हो । उनले ३३ बलमा अर्धशतक पूरा गरेका थिए । कुशलले सन् २०२४ मार्चमा पपुवा न्युगिनीविरुद्धपछि पहिलोपटक टी–२० आईमा अर्धशतक प्रहार गरेका हुन् । 
भुर्तेलले नेदरल्यान्ड्सविरुद्ध सर्वाधिक तीन अर्धशतक हिर्काएका छन् । उनले मलेसिया, सिंगापुर, ओमान र युएईविरुद्ध समान एक अर्धशतक प्रहार गरेका छन् । अमेरिकाविरुद्ध ओपनर अनिलकुमार शाहले ३१ बलमा २५ रन जोडे । गुल्सन झाले १२ बलमा १९ रन बनाए । कप्तान रोहितले १४ बलमा १८ र करण केसी १ बलमा ६ रन बनाउँदै नटआउट रहे ।

सुझावित समाचार