तेस्रो टी–२० आई खेल : अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

सोमबार, ५ कार्तिक, २०८१
डिजिटल संस्करण

घरेलु टोली अमेरिकाले तेस्रो टी–२० आई खेलमा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ। सोमबार बिहान डालासमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ६ विकेट गुमाउँदै १५६ रन बनायो। 

ओपनर साइटेजा मुकामल्लले ५१ बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ६८ रन बनाए। मिलिन्द कुमारले ४५ बलमा चार चौकासहित ४३ रनको योगदान गरे। 

यसअघि कप्तान तथा ओपनर मोनान्क पटेललाई दुई रन बनाउँदा सोमपाल कामीले एलबिडब्लू धरापमा पारेका थिए ।  तेस्रो नम्बर क्रिजमा आएका आन्द्रेस गौसलाई दुई रन जोड्दा रिजन ढकालले दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट गराउँदै दबाब सिर्जना गरेका थिए। 

नेपालका सोमपाल कामीले तीन विकेट हात पारे। रिजन र ललित राजवंशीको नाममा समान एक विकेट रह्यो। दीपेन्द्र, कुशल मल्ल, गुल्सन झा र आरिफ शेख विकेटविहीन भएका छन्। 

एक खेलअघि नै नेपालले शृंखला २–० ले जितिसकेको छ । नेपाल आज ‘क्लिनस्विप’ गर्ने योजनामा छ। यसअघि नेपाल पहिलो खेलमा १७ रनले विजयी भएको थियो । दोस्रो खेल टाई हुँदा नेपाल सुपर ओभरमा विजयी भएको हो।
 

सुझावित समाचार