जाजरकोट–डोल्पा सुरक्षा समन्वय बैठक : यातायात, अपराध नियन्त्रण र विपत् व्यवस्थापनमा सहकार्यको प्रतिबद्धता

आइतबार, ४ कार्तिक, २०८१
डिजिटल संस्करण

जाजरकोट र डोल्पा जिल्लाका सुरक्षा समितिहरूको अन्तरजिल्ला सुरक्षा समन्वय बैठक डोल्पामा सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाको आयोजनामा डोल्पाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रोमबहादुर महतको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।

बैठकमा जाजरकोटका सिडिओ उमाकान्त अधिकारीसहित दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो। बैठकले दुवै जिल्लाबिचको सुरक्षासम्बन्धी समन्वयलाई थप सुदृढ गर्दै अन्तरजिल्ला क्षेत्रमा भइरहेका गैरकानुनी गतिविधिहरूलाई रोकथाम गर्न प्रभावकारी रणनीति तयार गर्ने निर्णय गरेको छ।

विगतका समन्वय बैठकहरूमा भएका निणर्यहरूको कार्यान्वयन अवस्था र त्यसमा आइपरेका चुनौतीहरूको समीक्षा गरेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए। जाजरकोट र डोल्पा जिल्लाको सीमा क्षेत्रका सुरक्षा स्थितिलाई थप मजबुत बनाउन संयुक्त रूपमा निगरानी गर्ने सहमति भएको अधिकारीको भनाइ छ।

मुख्यतया लागुऔषध, हातहतियार, अवैध वस्तुहरू, जडीबुटी तथा वन्यजन्तुहरूको तस्करी नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने निष्कर्ष निकालेको डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए। दुवै जिल्लाका सुरक्षा निकायबिच नियमित रूपमा सूचना आदानप्रदान गरेर यस्ता अवैध गतिविधिहरूको निगरानी बढाउने निर्णय गरिएको उनको भनाइ छ। यसमा विशेष गरी सीमा क्षेत्रहरूमा हुने ओसारपसारलाई प्रभावकारी ढंगले नियन्त्रण गर्नका लागि नियमित गस्ती तथा संयुक्त अपरेसनहरू सञ्चालन गरिने भएको छ। 

बाढी, पहिरो, आगलागी तथा सडक दुर्घटनाजस्ता सम्भावित विपतका घटनाहरूमा दुवै जिल्लाका सुरक्षा निकायबिच सहकार्य गर्दै संयुक्त रूपमा उद्धार र राहत कार्यहरू सञ्चालन गर्न विशेष योजना बनाउने निर्णय भएको छ। यसले विपत् व्यवस्थापनमा प्रभावकारी समन्वय र समयमै उद्धार सम्भव हुने प्रजिअ महतको भनाइ छ।

जाजरकोटदेखि डोल्पासम्म खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक वस्तुहरूको सहज आपूर्तिको व्यवस्था मिलाउने सम्बन्धमा दुई जिल्लाबिच समन्वय गर्नुपर्नेमा आवश्यक छलफल भएको उनले बताए। सुरक्षा निकायहरूबिचको समन्वयले सीमा क्षेत्रमा हुने अवैध गतिविधिहरूमा कमी आउने अपेक्षा गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

सुझावित समाचार