मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको अगुवाइमा मिटरब्याजपीडितहरूले जिल्ला अदालत महोत्तरी घेराउ गरेका छन्। समस्या समाधानको लागि आयोग गठन तथा प्रहरीमा परेको निवेदनमा छलफल भई समस्या समाधानको प्रयास भइरहेका वेला अदालतले पीडितहरूमाथि पक्राउ पुर्जी जारी गर्ने, जग्गा लिलाम गर्नेजस्ता आदेश दिएको भन्दै उनीहरूले जिल्ला अदालत घेराउ गरेका हुन्।
आर्थिक प्रलोभनमा अदालतबाट यस्ता कार्यहरू भइरहेको आरोप लगाउँदै मिटरब्याजपीडितहरूले तत्काल साहुहरूको साथमा रहेको तमसुक छानबिन गर्न तथा आर्थिक प्रलोभनमा परेर भइरहेका अनुचित कार्य बन्द गर्न भन्दै अदालतअगाडि नाराबाजी गरेका छन्। पीडितहरूले नगर परिक्रमा गर्दै जिल्ला अदालत महोत्तरीअगाडि सडकमै कोणसभा गरेका थिए।
चारदेखि पाँच गुणा बढीको तमसुक बनाइएको भन्दै समितिले ती तमसुक तत्काल खारेज गर्न माग गरेका छन्। अभियानका केन्द्रीय सचिवालय सदस्य राजकिशोर मण्डलको अध्यक्षता तथा मिथिला कमान्ड अध्यक्ष मोहन महतोको प्रमुख आतिथ्यमा सो विरोध कार्यक्रम भएको हो।