रवि लामिछानेको पक्राउ प्रतिशोधको राजनीति हो कि यसको अन्य राजनीतिक अर्थ पनि छन् ?
सामान्यतः जो राजनीतिक रूपमा सक्रिय हुन्छ ऊसँग जोडिएका हरेक विषय चर्चामा आउँछन् नै । रविजीको राहदानीको विषय पनि विगतमा उठेकै हो । उहाँको ठाउँमा मधेस या जनजाति समुदायको कोही हुन्थ्यो भने उसको विषय फरक ढंगले उठेको हुने थियो । सहकारीको सवालमा रविजीमाथि केही प्रश्न उठेका छन् । तिनको निरूपण हुनुपर्छ । राजनीतिक प्राणी हो भन्दैमा कसैले पनि यस्ता प्रश्नबाट कानुनी रूपमा उन्मुक्ति पाउनुहुँदैन । त्यत्ति हो, राजनीतिक मुद्दा कतिखेर उठाइन्छन्, कसरी उठाइन्छन्, तिनको भने फरक अर्थ हुन सक्छ ।
साना दलको लोकप्रियताबाट ठुला दल डराएका त होइनन् ?
ठुला भनिएका तीन दल साना दलको अस्तित्वबाट तर्सिएका पक्कै हुन् । साना दलको आन्दोलन या आक्रामकताबाट उनीहरू आत्तिएका छन् । ठुला दलको भोटको आधार यिनै जनता हुन्, जो साना भनिएका भर्खरै उदाएका दलहरूले बिस्तारै खोसिरहेका छन् । त्यसैले, यस प्रकरणमा कसैलाई फसाइदिऊँ भन्ने नियत राखिएको पनि हुन सक्छ । तर, उहाँको पार्टीको अंकगणितका आधारमा आफूलाई अनुकूल हुन्जेल मौन बस्नु र आफूलाई प्रतिकूल हुनासाथ आक्रामक बन्नुले भने राम्रो संकेत गर्दैन ।
यसबाट नेपालको राजनीतिक भविष्यमा कस्तो प्रभाव पर्ला ?
०४६ यताको राजनीतिक इतिहास हेर्ने हो भने विधिको शासन लागू गर्ने सवालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रजस्ता संस्थालाई दलहरूले राजनीतिक स्वार्थ र दाउपेचअनुरूप उपयोग गरे । त्यस्ता संस्थाले कसैको रुचि, प्रवृत्ति र स्वार्थअनुरूप काम गर्ने अपसंस्कार झाँगिँदै गयो भने राजनीतिमा नकारात्मक प्रभाव पर्ने निश्चित छ ।