नेपालमा पहिलोपटक चार हजार मिटर बढी उचाइमा महिला ट्रेल रेस सम्पन्न भएको छ। विश्व समावेशी साहसी संस्था र सिन्धुपाल्चोकका १२ वटै पालिकाको सहकार्यमा ‘पाँच पोखरी विमन ट्रेल रेस २०८१’ सम्पन्न भएको हो। पाँचपोखरी थाङपाल गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको नेतृत्वमा सम्पन्न ट्रेल रेसमा ५१ जनाले भाग लिएका थिए।
ट्रेल रेसका लागि उमेरले ५० कटेकी उपाध्यक्ष अधिकारीसहित महिला तथा किशोरीहरू २८ असोजमा पाँचपोखरी गएका थिए । २८ किलोमिटरको दुरी र ४१ सय मिटर उचाइमा रहेको पाँचपोखरीबाट शुक्रबार विहान सात बजे रेस सुरू भएको थियो । दुई घण्टा २८ मिनेटमा रेस पूरा गरेर खोटाङकी निर्मला राई प्रथम भइन्।
राईले ५० हजार पुरस्कार प्राप्त गरिन्। कप, मेडल र प्रमाणपत्र पनि पाइन्। विजेता राई रेस पूरा गरेर पाँचपोखरी थाङपाल गाउँपालिका ४ स्थित मानेखर्क, रैथाने पोखरीमा ९ बजेर २८ मिनेट २९ सेकेन्डमा आइपुगेकी थिइन् । ‘रेस रमाइलो भयो । स्वास्थ्यका लागि, सशक्तीकरणका लागि यसले सहजता प्रदान गर्छ,’ उनले भनिन्।
यसैगरी दुई घण्टा ४९ मिनेटमा रेस पूरा गरेकी ओखलढुंगा घर भई नेपाल पुलिस क्लबमा कार्यरत लक्पा निग्मा शेर्पा दोस्रो भइन् । ‘रेस एकदफ टफ थियो । मलाई पाँचपोखरी रमाइलो लाग्यो, राम्रो ठाउँ रहेछ,’ उनले भनिन् । शेर्पाले २५ हजार पुरस्कार पाइन् भने कप, मेडल र प्रमाणपत्र पनि प्राप्त गरिन्।

हेलम्बुकी नितु तामाङले दुई घण्टा ५८ मिनेटमा रेस पूरा गरेर तेस्रो स्थान हासिल गरिन् । १५ हजार पुरस्कार पाएकी तामाङले कप, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । तीन घण्टा ११ मिनेटमा रेस पूरा गरेकी सिन्धुपाल्चोककै अस्मिता भुजेल चौथो भइन् । उनले १० हजार पुरस्कार, मेडल र प्रमाणपत्र पाइन्।
तीन घण्टा १८ मिनेटमा रेस पूरा गरेकी रोल्पाकी आस्मा विक पाँचौ भइन्। उनले पाँच हजार पुरस्कार, मेडल र प्रमाणपत्र पाइन् । ५४ वर्षीया सुकुमाया विकले मायाको चिनो स्वरूप नगद पुरस्कार प्राप्त गरिन्। रेस जित्ने तथा सहभागी महिला धावकलाई उपसभामुख इन्दिरा रानाले कपसहित पुरस्कार तथा मायाको चिनो र प्रमाणपत्र वितरण गरेकी थिइन्।
पाँचपोखरी गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले ४१ हजार मिटर उचाइमा महिला ट्रेल रेस गरिएको पहिलोपटक भएको बताइन्। ‘टुपिडाँडा, नोर्सयाम हुँदै पाँचपोखरी गयौं,’ उनले भनिन्, ‘पाँचपोखरीबाट आज विहान ७ बजे रेस सुरू भयो, तल झर्यौँ । कुदयौं। बाटो ठिक छ।’ उनका अनुसार ट्रेल रेसमा विभिन्न जिल्लाका ५१ जना महिला छन् । जसमा १७ देखि ६० वर्षसम्मका छन्।
‘मुख्यतः पाँच पोखरी चिनाउन यो आयोजना गरिएको हो,’ उपाध्यक्ष अधिकारीले भनिन्, ‘पहिला पनि तीनपटक म्याराथन गरेका छौं। जसका कारण बाह्य र आन्तरिक पर्यटन बढेका छन्। तर, महिलाहरूको रेस पहिलो हो। महिलाहरूलाई अगाडि बढाउन, हौसला दिन, महिलाहरू केही गर्न सक्छन् है भनेर उत्प्रेरणा जगाउन गरिएको हो।’ चुलोचौकामा सीमित महिलाहरू दौडिनु, रेसमा भाग लिनु समताको लागि ठूलो कुरा भएको उनको भनाइ थियो।

विश्व समावेशी साहसी संस्थाकी अध्यक्ष माया गुरुङले आमाछोरीदेखि दिदीबहिनीसम्म दौडिएको बताइन्।‘काठमाडौंबाट नजिक रहेको पर्यटन क्षेत्रको प्रवर्द्धन होस्, विकास भनेर गरिएको हो। सिन्धुपाल्चोक चिनाउन, पर्यटन सम्भावना बढाउन यसले मद्दत गर्नेछ,’ उनले भनिन्, ‘जुनसुकै उमेरका महिलाहरू उचाइमा पुग्न सक्छन् भन्ने सन्देश दिएको छ। आगामी दिनमा निरन्तरता दिनेछौं ।’ यसले थाम डाँडाहरूको धार्मिक पर्यटन प्रवर्द्धन हुने पनि आयोजकको विश्वास छ।
पुरस्कार वितरण समारोहमा बोल्दै पाँचपोखरी गाउँपालिका अध्यक्ष टासी लामाले सन् २०१७ मा गाउँपालिकालाई पर्यटनको हब बनाउन म्याराथन प्रारम्भ गरेको बताए। ‘आज असाध्यै राम्रो म्याराथन भएको छ,’ उनले भने, ‘आगामी दिनमा अझै सहयोग गर्नेछौं ।’
उपसभामुख इन्दिरा रानाले यो म्याराथनले महिला सशक्तीकरण, पर्यटनमा टेवा पुर्याउने बताइन् । समावेशीताको हिसाबले पनि यो म्याराथनले उच्च सन्देश दिएको उनको भनाइ थियो। ‘विश्वकै अग्लो हाइटबाट बहिनीहरूले म्याराथन गर्नु गर्वको कुरा हो । सँगै पर्यटन प्रवर्द्धनका लागि यो महत्त्वपूर्ण छ,’ उनले भनिन् ।
मौलिकता, संस्कृति झल्किने गरी बाटो र बस्ती विकास गर्न सुझाव दिँदै रानाले अर्गानिक र मौलिकता नै पर्यटकीय सम्भावना भएको बताइन् । पाँचपोखरीको डाँडाहरूमा धान फलेको देखेर आफू मोहित भएको अनुभूति व्यक्त गर्दै यो ठाउँले प्रशस्त सम्भावना बोकेकाले इको पर्यटनलाई प्रवर्द्धन गर्न अनुरोध गरिन् । सडक स्तरोन्नति निर्माणका लागि आफूले सक्दो पहल गर्ने उनले प्रतिबद्धता जनाइन् ।