नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सर्वाेच्च अदालतले सुनुवाइ अघि बढाएको छ । सर्वाेच्चको संयुक्त इजलासले बिहीबार सो मुद्दामा लिखित जवाफ पेस गर्न आदेश दिएको छ । न्यायाधीशहरू कुमार रेग्मी र डा. कुमार चुडालको इजलासले प्रारम्भिक सुनुवाइ गरी सात दिनभित्र आफैँ वा प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
सर्वाेच्चकै उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले बार अध्यक्षविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए । सो मुद्दा फिर्ता लिन आफूमाथि दबाब परेको घिमिरेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । यद्यपि, मुद्दाको सुनुवाइ अघि बढेको छ । सर्वाेच्चमा न्यायाधीश नियुक्ति गर्दा तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लेनदेन गरेको गम्भीर आरोप अध्यक्ष घिमिरेले लगाएका थिए । गत ११ असोजमा बसेको न्यायपरिषद्को बैठकले सर्वाेच्चमा दुई न्यायाधीश सिफारिस गरेको थियो ।
कानुन व्यवसायी कोटाबाट नियुक्त नगरी उच्चका मुख्य न्यायाधीशलाई मात्र सिफारिस गरेपछि आक्रोशित हुँदै अध्यक्ष घिमिरेले हिसाबकिताब मिलानका लागि न्यायधीश नियुक्त गरेको सार्वजनिक रूपमै आरोप लगाएका थिए । सोही अभिव्यक्तिविरुद्ध अवहेलना मुद्दा दर्ता भएको हो । अध्यक्ष घिमिरेले भने प्रधानन्यायाधीशका रूपमा नभई बार न्यायपरिषद्का अध्यक्षका रूपमा आफूले त्यस्तो आरोप लगाएकाले त्यो अदालतको अवहेलनाको विषय नभएको जिकिर गर्दै आएका छन् ।