बुधबार नेप्से ४३.२२ अंकले वृद्धि

बिहिबार, १ कार्तिक, २०८१
डिजिटल संस्करण

दसैँपछि खुलेको सेयर बजार बढ्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४३.२२ अंकले बढेको छ । दसैँ बिदापछि मंगलबार खुलेको बजारमा पनि ३१.४८ अंकले वृद्धि भएको थियो । बुधबार पुनः १.६० प्रतिशत बढेर नेप्से २७४२.८८ विन्दुमा पुगेको छ । दिनभरको उचारचढावमा बुधबार नेप्से सूचक २७४८.८० विन्दुसम्म पनि पुगेको थियो । 

बुधबार पाँच अर्ब ६६ करोड दुई लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ। नेप्सेका अनुसार बुधबार ३२० स्क्रिप्ट (कम्पनी)को १ करोड ३२ लाख २४ हजार ३ सय २२ कित्ता सेयर खरिद–बिक्री भएको छ। कारोबार संख्या भने ६५ हजार ८ सय ४५ रहेको छ। बुधबार बजार पुँजीकरण भने ४३ खर्ब ६१ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। नेप्सेका अनुसार बुधबार १३ वटा नै उपसूचक (सबइन्डेक्स) बढेको छ। बुधबार सेन्सेटिभ इन्डेक्स ७.६८ अंकले बढेर ४९३.९८, फ्लोट इन्डेक्स ३.२८ अंकले बढेर १८९.७९ र सेन्सेटिभ फ्लोट इन्डेक्स २.७४ अंकले बढेर १६३.८२ विन्दुमा पुगेको छ। 

बुधबार विजय लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ९.३३ प्रतिशत (७९.९० रुपैयाँ)ले बढेर ९३६ रुपैयाँ पुगेको छ । यस्तै, इस्टर्न हाइड्रोपावरको मूल्य प्रतिकित्ता ९.२४ प्रतिशतले बढेर ९४५ रुपैयाँ पुगेको छ । समता लघुवित्तको मूल्य ८.६२ प्रतिशतले बढेर प्रतिकित्ता ९४५ रुपैयाँ पुगेको छ । बुधबार २५० वटा कम्पनीको मूल्य बढेको छ।

सेयर बजार बढ्दा पनि ५४ कमपनीका मूल्य भने घटेको छ । त्यसमा अप्पर सांगे हाइड्रोपावरमा नकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको मूल्य १० प्रतिशतले घटेर ८६४.९० रुपैयाँमा सीमित भएको छ । त्यस्तै, मिडसोलु हाइड्रोपावर, मिथिला लघुवित्त, मान्डु हाइड्रोपावरलगायतका कम्पनीको मूल्यमा गिरावट आएको छ । यीबाहेक कारोबारमा आएका १६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

See More On

सुझावित समाचार