खानेपानीमन्त्री प्रदीप यादवले गोदावरी नगरपालिकाको चापागाउँस्थित बाढी प्रभावित क्षेत्रमा खानेपानी सेवा तत्काल सञ्चालन गर्न निर्देशन दिएका छन्।
मंगलबार ललितपुरको नल्लु, बासुकी र देवकी मुहान क्षेत्रमा बाढीका कारण भएको खानेपानी मुहानको क्षतिको जानकारी लिन पुगेका मन्त्री यादवले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र खानेपानी तथा ढल व्यवस्थापन विभागका अधिकारीहरूलाई यस्तो निर्देशन दिएका हुन्।
‘खानेपानी नागरिकको आधारभूत अधिकार हो। संघीय सरकार, स्थानीय सरकार र प्राविधिक निकायबिच समन्वय गर्दै तीन दिनभित्र यहाँको खानेपानी पुनर्स्थापना कार्य सुरु गर्नु होला,’ उनले भने।
मन्त्री यादवले सरकार स्थानीय बासिन्दाको समस्याप्रति संवेदनशील रहेको दाबी गर्दै भने, ‘जनताको समस्या समाधान गर्नु हाम्रो प्राथमिकता हो, म व्यक्तिगत रूपमा यस कार्यको प्रगतिमा अनुगमन गर्नेछु र समस्या समाधान नगरी हिँड्दिनँ।’
उनले भविष्यमा यस्ता विपद्हरू दोहोरिन नदिन दिगो पूर्वाधार र दीर्घकालीन योजनाको खाँचो औँल्याउँदै भने, ‘अबको समय संकट समाधान मात्र होइन, दीर्घकालीन सुधारको हो। हामी छिटो प्रतिक्रिया दिन सक्ने प्रणाली विकास गर्दै छौँ।’