दसैँमा आज पोखरामा निःशुल्क बस सञ्चालन

शनिबार, २६ असोज, २०८१
डिजिटल संस्करण

विजयादशमीका दिन आज पोखराका विभिन्न सातवटा रुटमा निःशुल्क बस सञ्चालन भएका छन् । विगत वर्षहरूमा जस्तै टीकाको दिनमा यातायातको साधन अभाव भएर नागरिकले सास्ती पाउने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिकाले यातायात समितिसँगको सहकार्यमा निःशुल्क बस सञ्चालन गरेका हुन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखराका सातवटा रुटमा चारवटा कम्पनीका १८ बसले निःशुल्क सेवा दिने जानकारी दिए । ती बसहरू आज अपराह्न ४ः०० बजेसम्म सञ्चालन हुनेछन् । 

पोखराका कोत्रे–पृथ्वीचोक–चिप्लेढुंगाहुँदै बागलुङ बसपार्कसम्म, फेदी–हेमजा–हरिचोक हुँदै पृथ्वीचोकसम्म, लामाचौर–बगर–महेन्द्रपुल–चिप्लेढुंगा–सिर्जनाचोक–बिरौटा हुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर–महेन्द्रपुल–चिप्लेढुंगा–सिर्जनाचोक–बिरौटा हुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर महेन्द्रपुल–पृथ्वीचोक–बिरौटा–सहिदचोक हुँदै लेकसाइडसम्म बस सञ्चालन हुनेछन् ।  

यसैगरी, लेखनाथ जनताको चौतारा–रूपाताल–सातमुहाने–खुदी–तालचोक–पृथ्वीचोक हुँदै बागलुङ बसपार्कसम्म, काहुँखोला–महेन्द्रपुल–पृथ्वीचोक–जिरो किमी हुँदै लेकसाइडको हल्लनचोकसम्म र बेगनासताल–तालचोक–पृथ्वीचोक–चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म निःशुल्क बस सेवा सञ्चालन हुनेछन् । निःशुल्क सेवा सञ्चालन गरिएका बसका चालक र सहचालकलाई पोखरा महानगरपालिकाले अतिरिक्त सुविधा उपलब्ध गराउने महानगर प्रमुख धनराज आचार्यले बताए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले यात्रुको सहजतालाई ध्यान दिएर निःशुल्क बस सेवा सञ्चालन गर्न सहकार्य गरेको बताए । ‘जनताको सेवा र राज्यलाई आवश्यक परेको वेला सहयोग गर्न हामी तयार छौँ । त्यसैको कडीको रूपमा निःशुल्क बस सञ्चालन गरेका हौँ,’ उनल भने।

सुझावित समाचार