काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ। फाइनल खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे हुनेछ।
श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगिताको उपाधिका लागि नेपालले उज्वेकिस्तानलाई प्रतिद्वन्द्वीको रूपमा पाएको हो । नेपाल समूह चरणको खेलमा लिगको दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो।
तुर्कमेनिस्तानसँग समान अंक भए पनि जितअन्तरका आधारमा नेपालले फाइनलमा स्थान बनाएको हो। उज्वेकिस्तान भने सतप्रतिशत जितसहित फाइनल प्रवेश गरेको हो। उसले समूह चरणका सबै पाँच खेलमा जित निकालेको छ।
समूह चरणको अन्तिम खेलमा शुक्रबार नेपालले तुर्कमेनिस्तानलाई हराएको थियो। नेपालले समूह चरणमा श्रीलंका र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग हार व्यहोरेको थियो।