तीन प्रदेशमा वर्षाको सम्भावना

शनिबार, २६ असोज, २०८१
डिजिटल संस्करण

मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार आज तीन प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना पूर्वानुमान गरिएको छ। वर्षा भए पनि खासै ठुलो भारी वर्षाको सम्भावना छैन।

‘आज दिउँसो बदली र वर्षाको सम्भावना छ, तर ठुलो भारी वर्षा भने हुनेछैन, त्यसैले आत्तिनुपर्ने अवस्था छैन, बदली रहे पनि झरी पर्नेछैन, क्षति पुर्याउने किसिमको पानी पर्दैन,’ झाले भने।

मौसमविद् झाले वर्षा भए पनि दसैँको टीका बिथोल्ने किसिमको झरी पर्ने अवस्था नरहेको बताए। दिउँसो कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ। कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ।

न्यूनतम तापक्रम क्रमशः घट्दै गएकाले काठमाडौंमा सामान्य चिसो बढेको छ। अबको एक साता न्यूनतम तापक्रम घट्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज काठमाडौंको अधिकतम तापक्रम २७ देखि २९ सम्म र न्यूनतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियस रहनेछ।
 

सुझावित समाचार