दसैँ बिदाको गन्तव्य बन्दै तिलिचो

बिहिबार, २४ असोज, २०८१
डिजिटल संस्करण

आकाश खुलेर मौसम सफा भएसँगै दसैँ बिदामा रहेका नेपालीहरूमा मनाङको मोहले निकै आकर्षित गर्न थालेको छ । संसारकै सबैभन्दा बढी उचाइमा रहेको तिलिचो ताल आन्तरिक पर्यटकका लागि दसैँ बिदा मनाउने प्रमुख गन्तव्य बनेको हो । केही वर्षयता दसैँ र तिहार मनाउन आउने पर्यटकले मनाङ खचाखच हुने गरेको मनाङका पर्यटन व्यवसायी विनोद गुरुङ बताउँछन्। 

मनाङ ङिस्याङ गाउँपालिका– ९ मा पर्ने तिलिचो ताल सामुद्रिक सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा छ । पछिल्लो सयम तिलिचो तालसम्म बाह्यभन्दा आन्तरिक पर्यटक बढी पुग्ने गरेका छन् । आकाश खुलेर वरिपरिका दृश्य अवलोकन गर्नका लागि उपयुक्त सिजन असोज र कात्तिक महिनादेखि मंसिरसम्म बढी उपयुक्त हुन्छ । अर्को सिजन चैत–वैशाखदेखि जेठको अन्तसम्ममा उपयुक्त हुने मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले बताउँछन् । तालको वरिपरि मुस्कुराइरहेका मुक्तिनाथ, तिलिचो हिमाल, नीलगिरि र हिमशृंखलाले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गरेको छ । कष्टकर र जोखिमपूर्ण यात्रापछि तिलिचो पुगेका पर्यटक सबै पीडा बिर्सिएर स्वर्गीय आनन्द मिलेको अनुभूति गर्ने आन्तरिक पर्यटक सरोज गुरुङ बताउँछन् । 

विश्वकै सर्वोच्च उचाइमा रहेको तिलिचो ताल ३ दशमलव ८ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको छ । पौराणिक किंवदन्तीअनुसार यस ताललाई काग भुसुन्डे तालका नामले पनि चिनिन्छ । खाङसारबाट तारेगुम्बा, श्रीखर्क हुँदै लगभग चार घन्टाको पदयात्रापछि तिलिचो बेस क्याम्प पुग्न सकिन्छ ।

बेसक्याम्पमा एक रातको वासपछि झन्डै पाँच घण्टाको उकालो हिँडेर तिलिचो ताल पुगिन्छ । तिलिचो ताल पुग्न अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ सदरमुकाम बेँसीसहरबाट मनाङ सदरमुकाम चामेसम्मको कुल ६५ किलोमिटर लामो बेँसीसहर–चामे सडक खण्ड र चामेदेखि पिसाङ, हुम्दे, मनाङ अनि खाङसारसम्म मोटरमा जाने गर्दछन् । बेँसीसहरदेखि खाङ्सारसम्मको सडकमा सीधा यातायात सेवा सञ्चालनमा छ । खाङ्सारदेखि श्रीखर्क हुँदै तीन घण्टाको पैदल यात्रापछि तिलिचो तालको बेसक्याम्पमा पुग्न सकिन्छ । बेसक्याम्पबाट पैदल पाँच घण्टापछि तिलिचो ताल पुग्न सकिन्छ ।

See More On

सुझावित समाचार