एक हजार ९१ खाद्य उद्योगमा चाडपर्वलक्षित अनुगमन

निरीक्षणका क्रममा उपभोग्य मिति समाप्त भएका, पूर्ण लेबल विवरण नभएका र खाद्य अनुमतिपत्र नलिएका २३ लाख ९६ हजार मूल्यबराबरको खाद्य पदार्थ नष्ट

बिहिबार, २४ असोज, २०८१
डिजिटल संस्करण

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक हजार ९१ उद्योग व्यवसायमा चाडपर्वलक्षित अनुगमन गरेको छ । विभागले १ असोजदेखि २२ सम्म अनुगमन गरी नगद जरिवाना, जफतलगायत कारबाही गरेको हो । विभागले मोबाइल फुड ल्याब भ्यान तथा मातहतका कार्यालयका टोलीमार्फत दैनिक रूपमा देशैभर निरीक्षण अनुगमन गरिरहेको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए । 

‘असोज १ देखि असोज २२ सम्म विभाग तथा मातहतका कार्यालयबाट खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम चाडपर्वलक्षित खाद्य पदार्थहरूको नियमित एवं संयुक्त निरीक्षण तथा अनुगमन गरी कुल १०९१ वटा खाद्य उद्योग एवं व्यवसायहरूको निरीक्षण अनुगमन गरी कारबाही गरिएको छ,’ उनले भने, ‘जसमध्ये ५२४ वटा खाद्य बजार, २६९ वटा खाद्य उद्योग र २९८ वटा होटेल तथा रेस्टुरेन्ट रहेका छन् ।’

विभागले अनुगमनका क्रममा ३५६ वटा नमुना विश्लेषण गरेकोमा सातवटा प्रतिवेदन प्रतिकूल पाइएको छ । निरीक्षणका क्रममा उपभोग्य मिति समाप्त भएका, पूर्ण लेबल विवरण नभएका र खाद्य अनुमतिपत्र नलिएका २३ लाख ९६ हजार मूल्यबराबरको खाद्य पदार्थ जफत तथा नष्टसमेत गरेको विभागले जनाएको छ ।

१६ असोजदेखि विभागले मोबाइल खाद्य प्रयोगशाला भ्यान प्रयोग गरी बजार अनुगमन निरीक्षण तथा स्थलगत खाद्य परिक्षण कार्यको सुरु गरेको थियो । ‘मोबाइल खाद्य प्रयोगशाला भ्यानहरू सञ्चालनमा आएदेखि प्रशोधित दुध, तेल, प्रशोधित पिउनेपानी, घिउ, पेय पदार्थलगायत विभिन्न खाद्य पदार्थ गरी ९० वटा नमुनाको स्थलगत चेकजाँच गरी प्रारम्भिक प्रतिवेदनअनुसार प्रतिकूल नमुनाउपर खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही चलाइएको छ,’ विभागले उल्लेख गरेको छ ।

खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ विपरीत कार्य गरेका सातवटा खाद्य व्यवसायीलाई ऐनबमोजिम सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागले खाद्य व्यवसायीलाई लेबल विवरण नभएका खाद्य पदार्थ बिक्री–वितरण नगर्न, सरसफाइमा विशेष ध्यान दिन, खाद्य वस्तु खरिद–बिक्री गर्दा लेबल अनिवार्य हेर्न, स्टोर तथा भण्डार व्यवस्थित गरी सफा राख्न, उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ छुट्टै भण्डारण गर्न, पकाएको खाद्य पदार्थ छोपेर राख्न, मसिजन्य पत्रिकामा खाद्य पदार्थ नराख्न, किट नियन्त्रण गर्न र अनुमतिपत्र नलिई खाद्य व्यवसाय सञ्चालन नगर्न निर्देशन दिएको छ । 

सुझावित समाचार