खेलाडीको दसैँ : कोही प्रशिक्षणमा, केही फुर्सदिला

बिहिबार, २४ असोज, २०८१
डिजिटल संस्करण

नेपालीको महान् चाड दसैँ सुरु भइसकेको छ । दसैँ मनाउन आ–आफ्नो घर फर्किने क्रम जारी छ । खेल क्षेत्रलाई दसैँँले नछुने कुरै भएन । केही खेलाडी दसैँँ मनाउन घर पुगेका छन् । केही अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन स्वदेश र विदेशमा प्रशिक्षणमै व्यस्त छन् ।

दसैँँलगत्तै महिला साफ च्याम्पियनसिप भएकाले महिला फुटबल खेलाडी नियमित प्रशिक्षणमा छन् । अखिल नेपाल फुटबल संघले महिला खेलाडीलाई टीकाको दिन मात्र बिदा दिएको छ । आइसिसी विश्वकप लिग २ मा प्रतिस्पर्धा गर्न सिंगो सिनियर पुरुष राष्ट्रिय टोलीका खेलाडी क्यानडामा अभ्यासमै व्यस्त छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा कहिल्यै खाली हात नफर्किएकी कराँतेकी एरिका गुरुङ पनि इटालीमा हुने विश्व च्याम्पियनसिप खेल्न त्यतै छिन् । महिला क्रिकेट, बास्केटबललगायत खेलाडीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल नभएका कारण फुर्सदिला छन् । 

फ्रान्समै दसैँ
सावित्रा भण्डारी (फुटबल)

यसपटकको दसैँ फ्रान्समा हुने भयो । फ्रान्समा लगातार लिग खेल चलिरहेको छ । लिगमा सहभागी हुनुपर्ने भएकाले दसैँँको समयमा यहीँ व्यस्त हुनेछु । सम्भव भएसम्म फ्रान्सबाट नै परिवारसँग फोनमा कुराकानी गर्ने प्रयास गर्छु । परिवारसँग कुराकानी गरी रमाइलो गर्ने प्रयास गर्छु । मिलेको खण्डमा दसैँँमै पनि नेपाल आउन सकिन्छ । फेरि दसैँलगत्तै साफ च्याम्पियनसिप छ । साफ च्याम्पियनसिपमा सहभागी हुन क्लबसँग कुराकानी भइरहेको छ । उहाँहरूले रिलिज गर्नुभयो भने साफ च्याम्पियनसिपसँगै दसैँँको टीका थाप्न आउनेछु । घर नपुगे पनि दसैँंको टीका काठमाडौंमै हुन्छ । गत वर्ष इजरायलमा हमला हुँदा नेपाल फर्किएर दसैँ मनाएकी थिएँ । यसपालि भने व्यावसायिक फुटबलमा सोचेभन्दा धेरै व्यस्त छु । 

मिलेसम्म चंगा उडाउनेछु
उषा भण्डारी (भलिबल)

यसपटक दसैँँ काठमाडौंमा हुन्छ । अहिले बुबाआमा सबै यतै हुनुहुन्छ । तीन वर्षपछि दिदी विदेशबाट आउनुभएको छ । दिदीको आगमनले घरपरिवारमा उत्साह थपेको छ । गत वर्ष टीका थिएन । दसैँको समयमा प्रशिक्षण तथा खेल हुँदा रमाइलो गर्न पाइँदैन । यसपटक भर्खरै प्रतियोगिता सकिएको छ । अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल छैन । एक किसिमले यो वेला ब्रेक समयजस्तै हो । अब पिङ खेल्ने र चङ्गा उडाउनुपर्छ । सानोमा पिङ र चङ्गा खुब उडाएँ । अहिले पनि मजा लाग्छ । दसैँ नै भनेर त्यस्तो विशेष केही छैन । 

साफ च्याम्पियनसिपमा केन्द्रित छु
अन्जिला तुम्बाप्पो सुब्बा (फुटबल) 

म मात्र नभएर अन्य साथीको पनि साफ च्याम्पियनसिप केन्द्रित अभ्यासमै बितिरहेको छ । फेरि एकपटक घरमै आयोजना भइरहेको च्याम्पियनसिपमा राम्रो नतिजा निकाल्ने र राष्ट्रलाई उपाधि दिलाउने योजनाका साथ अभ्यास गरिरहेका छौँ । यसकारण दसैँभन्दा पनि अभ्यासमै केन्द्रित छु । उही समयमा ग्रिसको महिला लिग खेल्न भिसा आए पनि साफ च्याम्पियनसिपका कारण नजाने निधो गरेकी हुँ । क्लोज क्याम्पमा रहेका हामी सबै खेलाडी दसैँमा घर जानेछैनौँ । लगातार प्रशिक्षण भइरहेको छ । तर, टीका दिन अफ पाएका छौँ । त्यही एक दिन साथीहरूसँग दसैँ मनाउनेछु । पछिल्लोपटक हामी बंगलादेशसँग फाइलनमा चुकेका थियौँ । यसपटक दसैँको साफ च्याम्पियनसिपमा उपाधि जितेर मनाउनेछौँ । 

अभ्यासमै व्यस्त छु
विजय सिँजाली (उसु) 

अहिले जापानमा हुने उसु विश्वकपको तयारीमा व्यस्त छु । मेरो योजना विश्वकपमा नेपाललाई पदक दिलाउने भन्ने हो । सबै पक्ष छाडेर तयारी गरिरहेको छु । यसकारण दसैँँमा त्यति ध्यान छैन । केवल तयारी मात्र हो । म मात्र नभएर अन्य खेलाडीको दैनिकी प्रशिक्षणमै बितिरहेको छ । दसैँ मनाउँदा सामान्य रूपमा हुनेछ । सानो छँदा खुब चङ्गा उडायौँ । साथसाथै पिङ पनि त्यस्तै खेलेका थियौं ।  अहिले त्यो माहोल छैन । त्यसवेलाको गाउँघरको जस्तो रमाइलो छैन । तर, प्राप्त समयमा हामी खेलाडीहरू रमाइलो गर्ने प्रयास गर्छाैँ । 

इटालीमै दसैँ हुने भयो
एरिका गुरुङ (कराँते)

यसपटक १३औँ विश्व कराँते च्याम्पियनसिपमा सहभागी हुन इटाली आएको छु । इटालीको भिनिस सहरमा विश्व च्याम्पियनसिप चलिरहेको छ । यसपटकको दसैँ इटालीमै हुने भएको छ । यहाँ गुरु (कुशल श्रेष्ठ) सँगै अन्य टिममेटसँग दसैँ मनाउने योजना छ । यद्यपि, दसैँ मनाउनेभन्दा पनि मेरो ध्यान विश्व च्याम्पिनसिपमा नेपाललाई स्वर्ण दिलाउने हो । यसै महिना चीनको हाङझाउमा एसियन कराँते च्याम्पियनसिपमा स्वर्णबाट चुकेँ । विश्व च्याम्पियनसिपमा राम्रो नतिजा निकाल्ने विश्वास लिएकी छु । गत वर्ष दसैँअगाडि हाङझाउमा भएको एसियाडमा कराँतेमा राष्ट्रलाई ऐतिहासिक रजत दिलाएकी थिएँ । त्यसैले पनि गत वर्षको दसैँँ विशेष रह्यो । त्यसवेला लामो समय ब्रेक पाउँदा परिवारसँगै चितवनमै दसैँ मनाउन गएकी थिएँ । 

परिवारसँग बुटवलमा दसैँ मनाउने हो
इन्दु बर्मा (क्रिकेट)

घटस्थापनासम्म काठमाडौंमा थिएँ । दसैँ मनाउन अहिले बुटबल आएकी छु । यहाँ सबै परिवार छन् । यसपटक भाइ विदेशबाट आएकाले दसैँ विशेष हुने अनुमान छ । अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल भएको छैन । यसले पनि महिला क्रिकेट खेलाडी फुर्सदिला छन् । गत वर्षको दसैँ पनि घरमै मनाएकी थिएँ । प्रतियोगिता नभएकाले अधिकांश समय घरमै हुन्छु ।

इटालीबाट दसैँको उपहार ल्याउने प्रयास गर्छौँ
कुशल श्रेष्ठ (कराँते प्रशिक्षक)

म र एरिका गुुरुङ इटालीमा छौँ । यहाँ ९ देखि १३ अक्टोबरसम्म विश्व च्याम्पियनसिप हुँदै छ । दसैँअगाडि नै हामी यहाँ आएका हौँ । प्रतियोगिताका लागि राम्रो तयारी गरेका छौँ । नेपालमा परिवारका सदस्य दसैँँको रमझममा बस्दा हामी इटालीमा प्रतियोगितामा केन्द्रित हुन्छौँ । यसपटक दसैँमा ऐतिहासिक पदकसहित फर्कने योजना छ । विश्व च्याम्पियनसिपमा हाम्रो लक्ष्य नै स्वर्ण हो । एरिकाको तयारी र पछिल्ला अनुभवअनुसार पदकको धेरै आशा छ । यसैले पदक जितेर दसैँको उपहार सबैलाई सुम्पिने योजना छ । गत वर्ष दसैँअगाडि १९औँ एसियन गेम्स र कराँते च्याम्पियनसिपमा पनि राम्रो नतिजा आएको थियो ।
 

सुझावित समाचार