धौलागिरि हिमालमा बेपत्ता पाँच आरोहीको शव भेटियो

मंगलबार, २२ असोज, २०८१
डिजिटल संस्करण

म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीमा अवस्थित धौलागिरि हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँचजना आरोहीको शव फेला परेको छ। असोज २० गते रातिदेखि सम्पर्कविहीन बनेका आरोहीको खोज तथा उद्धारको क्रममा मंगलबार दिउँसो शव फेला परेको हो।

धौलागिरि हिमालको हाइक्याप आधार शिविरबाट आइतबारदेखि हराएका रुसका आरोहीहरूको शव मंगलबार सात हजार एक सय मिटरको उचाइमा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। रुसका एलेक्सज्याडर डस्सिकोे, ओलेग क्लोम्भ, भ्लालिमिर सिस्तिकोभ, नोसेन्को मिखाइल र एसएचपिलेभोर्सको शव उद्धारकर्ताको टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।

उनका अनुसार हाइक्यापमा वास बसेर त्यहाँदेखि माथि जाने क्रममा सम्पर्कविहीन भएका पर्वतारोहीहरूको हेलिकोप्टरमार्फत खोजी गर्ने क्रममा मृत भेटिएका हुन्। घटनास्थलबाट हेलिकोप्टरमार्फत शव ल्याउने तयारी भएको खबर आएको प्रनाउ श्रेष्ठले बताए।

हराएका पर्यटक खोज्न हेली एभरेस्टको हेलिकोप्टर परिचालन भएको थियो। उनीहरू आई एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत धौलागिरि हिमाल आरोहणका लागि आएका थिए।

धौलागिरि हिमाल आरोहणका क्रममा सात हजार ६ सय मिटर उचाइमा उनीहरू दुर्घटनामा परेको अनुमान गरिएको छ। आरोही समूहका एकजना भालेरी सामालोलाई फस्ट क्याम्पबाट उद्धार गरी काठमाडौं लगिएको छ। चौथो क्याम्पमा पुगेपछि माथि जान अप्ठेरो भएका कारण उनी तल ओर्लेका थिए।

सुझावित समाचार