बाढीपहिरोमा परी मृत्यु भएका खेलाडीको सम्झनामा जुम्लामा दीप प्रज्वलन गरिएको छ। जिल्ला फुटबल संघ जुम्लाले सदरमुकाम खलंगास्थित कृष्णमन्दिरको प्रांगणमा सोमबार दीप प्रज्वलन गरेको हो।
मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका– ३ स्थित वाल्सत्यदेवी माविमा रहेको एन्फा एकेडेमीमा प्रशिक्षणरत ६ खेलाडीको गत १२ असोजमा आएको पहिरोमा पुरिएर मृत्यु भएको थियो। ११ गतेदेखि नै परेको अविरल वर्षाका कारण विद्यालय छाडेर सुरक्षित स्थानतर्फ जानू भन्ने सूचनापछि डाँडातर्फ जाने क्रममा उनीहरू पहिरोमा परेका थिए। उनीहरूसँगै अध्ययन गर्ने अन्य ३० विद्यार्थी भने सुरक्षित छन्।
पहिरोमा पुरिएर जीवन गुमाएका तिनै खेलाडीहरूको सम्झनामा जुम्लामा दीप प्रज्वलन गरिएको हो। एन्फा जुम्लाका महासचिव दीपेन्द्र हमालका अनुसार दिवस बानियाँ, प्रियान्स आचार्य, अनुपम घलान, साइमन योन्जन, विकल रेग्मी र आदित्य बलम्पाखीको आत्माको चीरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो।
कार्यक्रममा एन्फा जुम्लाका अध्यक्ष तथा केन्द्रीय सदस्य भरत बुढ्थापाले दीप प्रज्वलन गर्दै दिवंगत खेलाडीहरूको आत्माको चीरशान्तिको कामना गरे।
