बैंक–वित्तीय, बिमा तथा सवारीसाधन विक्रेता कम्पनीले बाढीपहिरोपीडितको सहयोगार्थ आठ करोड ५८ लाख रुपैयाँ रकम सहयोग गरेका छन् । गत शुक्रबार र शनिबार देशभर भएको अविरल वर्षासँगै आएको बाढीपहिरोले ठूलो मात्रामा जनधनको क्षति पुर्याएको छ । बाढीपहिरोबाट पीडितलाई विभिन्न संस्थाले राहतस्वरूप प्रधानमन्त्री दैवी प्रकोष उद्धार कोषमा सो रकम सहयोग गरेका हुन् ।
ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच करोड रुपैयाँ सहयोग गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गरेका हुन् । कोषमा ग्लोबल आइएमई बैंक लिमिटेडको चार करोड ५० लाख, आइएमई लिमिटेडको २० लाख, आइजिआई प्रुडेन्सिएल इन्सोरेन्सको १५ लाख र आइएमई लाइफको १५ लाख गरी कुल पाँच करोड रुपैयाँ हस्तान्तरण गरिएको छ।
त्यस्तै, नेपाल बैंकले दुई करोड रुपैयाँ सहयोग गरेको छ। बैंकले प्रधानमन्त्री दैवी प्रकोप सहयता कोषमार्फत सहयोग पुग्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई करोडको चेक हस्तान्तरण गरेको छ । एक कार्यक्रमबिच बैंकका सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले सो रकमबराबरको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन्।
यता, नेपाल एसबिआई बैंकले भने २५ लाख रुपैयाँ सहयोग गरेको छ । सहयोग रकमको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले हस्तान्तरण गरे ।साथै, एनएमबि बैंकले पनि आर्थिक सहयोग गरेको छ । बैंकले बाढीपहिरो पीडितका लागि ५१ लाख रुपैयाँ जम्मा गरेको छ । उक्त सहयोगले बाढीपहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनस्र्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाहरूको पुनर्निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ।
प्राइम कमर्सियल बैंकले पनि बाढीपीडितका लागि ३१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । त्यसैगरी, साइमेक्स बिवाइडी च्यारिटी फाउन्डेसन (सिबिसिएफ)मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख पाँच रुपैयाँ सहयोग गरेको छ। एक कार्यक्रमबिच साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्।