इन्द्रसरोवर गाउँपालिका– २ स्थित कुलखानी ड्याममुनि सिमखोलामा बनाएको डाइभर्सन भासिँदा सवारी आवागमनमा समस्या भएको छ ।
सिमखोलामा बनाएको डाइभर्सन भासिँदा कुलेखानी-फाखेल महालक्ष्मी र कुलेखानी-सिस्नेरी-दक्षिणकाली दुवैतर्फका सवारी आवागमन अवरुद्ध भएका छन्। यसअघि आइतबार दिउँसोबाट उक्त सडक खण्डहरू सञ्चालनमा ल्याइएको थियो।
पाँच दिन लगाएर कुलेखानीस्थित सिमखोला, महालक्ष्मी खोला र सिस्नेरी खोलाले बगाएको बाटोको विकल्पमा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो । डाइभर्सनमा फिलिङ गरिएको माटो भासिएको र नयाँ माटो फिलिङ गरिँदै गरिएकाले अबको दुई घण्टाभित्र सवारी आवागमन सञ्चालन हुने डाइभर्सन निर्माण स्थलमा रहेका एक प्राविधिकले जनाकारी दिएका छन्।
बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, स्थानीय तह, नेपाली सेना र प्रहरीको सक्रियतामा सिमखोला, महालक्ष्मी र सिस्नेरीमा डाइभर्सन निर्माण गरी आइतबार अपराह्नबाट सवारी आवागमन खुलाइएको थियो।