स्थानीय तह उपनिर्वाचन : २५ दल दर्ता, रास्वपा पनि सहभागी हुने

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

स्थानीय तहका रिक्त ३९ पदमा १६ मंसिरमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले २५ दल दर्ता गरेको छ । समयसीमाभित्र २६ दलको निवेदन प्राप्त भएकोमा कानुनी रीत पूरा भएका २५ दललाई राजनीतिक दलसम्बन्धी नियमावलीको नियम १७ (४) बमोजिम दर्ता गरिएको प्रवक्ता नारायणप्रसाद सापकोटाले बताए । आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न १० देखि १६ असोजसम्म समय दिएको थियो । 

आयोगका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, जसपा नेपाल, जनमत, नागरिक उन्मुक्ति, नेमकिपा, आम जनता पार्टी दर्ता भएका छन् । यसैगरी, राप्रपा नेपाल, नेकपा माले, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन एकता पार्टी नेपाल, समावेशी समाजवादी पार्टी नेपाल, हाम्रो नेपाली पार्टी, नेसनल रिपब्लिक नेपाल, राजपा नेपाल, नेपाली कांग्रेस (बिपी), राष्ट्रिय मातृभूमि पार्टी र नेपाली जनता दल दर्ता भएका छन् ।

दर्ता भएका दलले २ मंसिरमा उम्मेदवारी दर्ता गराउनेछन् । २ मंसिरको बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने आयोगको कार्यतालिका छ । १६ मंसिर बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । आयोगका अनुसार जिल्ला समन्वय समिति प्रमुख दुई, नगरपालिकाका मेयर र उपमेयर एक–एक, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष तीन र ३० वडाध्यक्षका लागि निर्वाचन हुन लागेको छ ।

०७९ को स्थानीय तह निर्वाचनमा भाग नलिएको संसद्को चौथो दल रास्वपा यसपटकको उपनिर्वाचनमा भने भाग लिँदै छ । उपनिर्वाचनमा सहभागी हुन दल दर्ता गरेको रास्वपाले उम्मेदवारीको मोडल तय गर्न अध्ययन गरिरहेको छ । कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार उपनिर्वाचनमा रास्वपाको आफ्नै उम्मेदवार उठाउने कि अरू कुनै स्वतन्त्र उम्मेदवारलाई सघाउने भन्ने निक्र्याेल हुन बाँकी छ । यसमा पार्टी, संगठन र भूगोलको उपस्थिति हेरेर निर्णय लिन कार्यबाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई जिम्मेवारी दिइएको छ । बुर्लाकोटी टिमसहित अध्ययनका लागि निर्वाचन हुने पालिकामा छन् । 

सुझावित समाचार